काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते बसेको प्रतिनिधिसभाको बैठकबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको एमसिसी सम्झौतालाई बिहीबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।
लामो राजनीतिक विवाद र असहमतिकाबीच प्रमुख राजनीतिक दलले १२ बुँदे व्याख्यात्मक घोषणा गरेर अनुमोदन गरेका थिए । सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच २०७४ भदौ २९ गते अनुदान सहायता सम्झौता भएको थियो ।
नेपालको संविधानको धारा २७९ बमोजिम अनुमोदन गरेको र सो को नेपाली र अङ्ग्रेजी भाषाको प्रामाणिक प्रति नेपाल सन्धि ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि राजपत्रमा प्रकाशन गरिएको छ ।
राजपत्रमा प्रकाशित एमसीसी सम्झौता
वि.सं.२०७९ वैशाख १८ आइतवार १५:०८ मा प्रकाशित






























