
ओम आचार्य, अर्घाखाँची
एकाबिहानै
म तिनीहरू आए कि भनेर आउँछु
तिनीहरू म आयो भनेर आउँछन्
हाम्रो देवघाट
हाम्रो भेटघाट
हाम्रै घरको छत हो
हामी दुबै थरिको यो बथ हो ।
तिनीहरू केही दिन्छ भनेर आउँछन्
म तिनीहरूलाई केही दिन्छु भनेर आउँछु
हाम्रो गजबको सम्बन्ध छ
तिनीहरू चारो खाएर भोक मेटाउँछन्
म तिनीहरूको कामकला हेरेर अतृप्त प्यास मेटाउँछु
भोक र प्यासले बनाएको मित्रता
अजीवको छ अजीवको ।
तिनीहरू बथानमा आउछन्
पेट भर्छन्
फोहर गर्छन्
परपर सर्छन्
संसर्ग गर्छन्
बाज संग डर्छन्
मैले पनि यिनकै सिको त गर्छु
फरक यत्ति छ तिनीहरू सम्बन्ध मुक्त छन्
म बन्धनयुक्त छु ।
तिनीहरू शान्ति बोकेर माथि माथि उड्छन्
म शान्ति खस्ला भनी फाँद थाप्छू
थापिरहन्छु समय
चाँपिरहन्छु रहर
हेर्दै हर प्रहर
टसमस नगरी
भोलि बिहान फेरि भेट्ने गरी ।