काठमाडौं । जबरजस्ती करणीबारे कानुनमा भएको हदम्याद हटाउन भन्दै अखिल क्रान्तिकारीले कानुनमन्त्री गोबिन्द बन्दीलाई ज्ञापनपत्र बुझाएको छ ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले सोमबार कानुनमन्त्री बन्दीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै जवरजस्ती करणी जस्तो संबेदनशील, जघन्य महिला विरुद्धको अपराधमा संकुचित हदम्यादको कारण पीडितले न्यायबाट बंचित हुनुपरेको र पीडकको मनोबल बृद्दि हुने अवस्था देखिएको भन्दै तत्काल हदम्याद खारेजीको लागि सम्बन्धीत कानुन संशोधन गर्न माग गरेको हो ।
कानुनमा भएको हदम्यादको संकुचित व्यवस्थाको कारण पीडित सुस्मिता रेग्मी न्यायबाट बञ्चित हुनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने माग गर्दै अखिल क्रान्तिकारीले भनेको छ, ‘यी यस्ता घटनासँग सम्बन्धीत पीडित तथा पीडित परिवारमा पर्न सक्ने दवाव र प्रभावलाई समेत मध्येनजर गर्दै पीडितको सुरक्षाको सचित व्यवस्थापन गर्न माग गर्दछौं ।’
८ वर्ष अगाडि भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगितामा सहभागी किशोरीलाई कार्यक्रम संचालकले होटलमा बोलाएर बलात्कार गरेको आरोपलगाउँदै एक युवतीले विभिन्न सामाजिक संजालमा सार्वजनिक गरेपछि यसको चौतर्फि आलोचना भइरहेको छ ।
जवरजस्ती करणी सम्बन्धी कानुनमा भएको हदम्यादका कारण धेरै युवतीहरुले न्याय पाउन समस्या परेको भन्दै सडकदेखि सदनसम्म कानुनमा भएको हदम्याद हटाउनुपर्ने भन्दै आवाज उठिरहेका छन् ।

वि.सं.२०७९ जेठ ९ सोमवार १३:०३ मा प्रकाशित






























