काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अर्थहिन भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनता अल्मल्याउने अभ्यास गरिएको बताए ।
सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भएको बताए । उनले भने, “नीति कार्यक्रम भनेर ६५ पृष्ठमा १ सय ४५ वटा बुँदा राखेर ल्याइएको छ, यसमा रहेका भनाइका अर्थ र अन्तर्वस्तुतर्फ पटक्कै ध्यान नगइकन वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, संगति नमिल्नु चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरीजस्तो खल्लो, गुजुल्टिएको । चास्नीमा हाल्न भ्याएको छैन ।”
उनले सरकारको नीति तथा कार्यक्रम कुन विचारधारामा आधारित हो भन्ने स्पष्ट नभएको बताए । नीति तथा कार्यक्रम जेरीजस्तै गुजुल्टिएको उनको टिप्पणी छ । उनले भने, “यो सरकारै त्यस्तै छ जेरीजस्तै गुजुल्टिएको । कुनै नीति छैन, कहाँ पुग्ने ? कसको नीति ? यसको नीति के हो ?”
ओलीले नीति तथा कार्यक्रमको अन्तरवस्तु मात्रै नभइ व्याकरण र वाक्यमा समेत अशुद्धता रहेको बताए ।
“नीति कार्यक्रम ६५ पेजमा १४५ बुँदा छन्, ११०, १३२, १६१ यसका नमूना हुन्, जुन अर्थहीन छन्”, उनले भने, “एउटै बुँदामा भनाइ बाझिएका छन्। यस्तो हुनु त यसको विशेषता छ। गठबन्धनका पार्टीले अलगअलग लगाएर जोडेको छ।”
सम्बन्धित समाचार
संसदमा ओलीको सम्बोधन : चुनावमा सत्तापक्षले पञ्चायतभन्दा बढी अत्याचार गर्यो
वि.सं.२०७९ जेठ १२ बिहीवार १२:२४ मा प्रकाशित






























