उत्तम ‘बिचार’ टोखा, काठमाडौं
कस्तो निर्णय गर्छ राज्य हचुवा सोच्दै नसोचीकन
हप्तामा गरिँदा बिदा थप यहाँ जोगिन्छ के इन्धन ?
सेवा निम्ति जुटून् मिली हरघडी होस् स्फूर्ति औ जाँगर
अर्को आइतबार कुर्नु नपरोस् होस् काम आजै गर ।।१।
जान्छन् घुम्न जहाजको सफर वा गाडी चढी डुल्दछन्
जोगाऔँ तर तेलको खपत यो भन्ने कुरा भुल्दछन् ।
होला सर्बर रुद्ध याद गरियोस् सेवा ठूलो हो तर
अर्को आइतबार कुर्नु नपरोस् होस् काम आजै गर ।।२।
हप्तामा दिन पाँच कर्म नगरी होलान् कयौँ उत्सव
मान्नै पर्दछ चाड पर्व जति छन् हुन् देशका गौरव ।
नाराका भरमा न ता मुलुक यो बन्ला त्यसै सुन्दर
अर्को आइतबार कुर्नु नपरोस् होस् काम आजै गर ।।३।
के उत्पादन बढोस् घटी दिनदिनै आयात बढ्दै गयो
छन् उद्योग सिकिस्त देशभरिमा निर्यात घट्दै गयो ।
जाला घाम भनी चिहाउन बसे के मान्नु तिम्रो भर
अर्को आइतबार कुर्नु नपरोस् होस् काम आजै गर ।।४।
बढ्दो आर्थिक भारले मुलुकको घाटा बढेको पल
नेपाली मन भासमा जकडियो को दिन्छ आई हल ।
बित्ला वर्ष त्यसै निकास नदिई फेरिन्छ संवत्
अर्को आइतबार कुर्नु नपरोस् होस् काम आजै गर ।।५।
छन्द : शार्दूलविक्रीडित
वि.सं.२०७९ जेठ १४ शनिवार ०८:२४ मा प्रकाशित






























