सीता शर्मा ‘शीत’ सिक्किम, भारत
जुनेली रातको आभा कहरले छोपिएको छ,
त्यसैले जूनको पीडा जहर भै पोखिएको छ !
तिमी भन्थ्यौ खुशी आँसु बराबर हुन्छ जीवनमा,
कहाँ हुन्थ्यो सधैँ कैयौँ समस्या भेटिएको छ
रच्यो कस्तो विधाताले कहानी आज जीवनको,
उही मर्का उही पीडा अचानक बल्झिएको छ
सधैँ हिंसा दुराचारी बढेको झन् खबर सुन्छु
त्यसैले के हुने भन्दै यहाँ मन आत्तिएको छ,
सहन्थें मार हातैको, वचनको वाणले हान्यौ
यसैले आज हे प्यारा हृदय झन् भेदिएको छ
बहरः हजज मुसम्मन सालिम
सूत्रः १२२२ १२२२ १२२२ १२२२
वि.सं.२०७९ जेठ १४ शनिवार ०८:२६ मा प्रकाशित





























