बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा
रामप्रसाद र पारुको चारबर्षको सुमधुर प्रेम मागि विवाहमा टुङ्गो लाग्यो । दुबै सम्पन्न र शिक्षित परिवारका सदस्य थिए ।
पारुकै चाहना अनुसार उनीहरू हनीमुनको लागि थाइल्याण्ड जाने भए ।
रामप्रसादले अनलाइनबाट बैंकक जाने टिकट बुक गर्यो । चारदिनको लागि थ्रीस्टार होटल बुक गरायो । विवाह भएको सातौं दिनको बिहान रामप्रसाद र पारु चढेको थाई एअरलाइन्सको बोइङ काठमाडौंबाट उड्यो ।
उनीहरू बैंककका सूवर्णभूमिे एअरपोर्टमा उत्रिए । होटलले पठाएको गाडीमा उनीहरु होटलतर्फ गए ।
पहिलो दिननै पारुले समुद्री किनार जाने इच्छा राखिन् । उनीहरूले समुद्री तटको आनन्द लिए । राति आठ बजेमात्र होटलमा फर्किए ।
कोठामा नयाँ दुलहा दुलहीको रोमान्टिक कुराहरू नहुने कुरै भएन । दुबै मीठा मीठा कुराकानीमा हराए । अब उनीहरू सुत्ने तरखरमा लागे । तर, पारुले रामप्रसादको अनुहारमा एकटक हेरिरहिन् । दुबैका आँखाले क्षणभर नशालु मौन सम्वाद गरे । रामप्रसादले पारुलाई अंकमाल गर्न खोज्यो । तर, पारु जुरुक्क उठेर सोफामा गएर बसिन् । रामप्रसाद अल्मलियो ।
‘तिमी बाहुनको छोरो, म राईकी छोरी । अब चारदिन हामी घुम्नेमात्र । हिन्दु धर्म र संस्कारको कुरामात्र होइन, विज्ञानले पनि यो समयलाई नारीको आरामको समय हो भनेको छ । हनिमुनले राम्ररी छुट्टी मनायो…..प्रतीक्षा गर मेरो राजा ।’
रामप्रसाद प्रतिक्रिया शून्य भयो ।
पारुले कोठामा मधुर मुस्कान छर्छै अतृप्त मदहोश नजरको गहिरो छाल रामप्रसादतिर फ्याकिन् ।
सुट्केसबाट सेनेटरी प्याड निकालिन् र बाथरुमभित्र पसिन् ।
वि.सं.२०७९ जेठ १४ शनिवार ०८:२९ मा प्रकाशित





























