back
CTIZAN AD

धुलिखेलमा ४९ होटल सञ्चालनमा, आठ अर्ब लगानी

वि.सं.२०७९ असार ३ शुक्रवार

765 

shares

राजकुमार पराजुली, काभ्रेपलाञ्चोक । पर्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका छन् । ती होटलमा हालसम्म रु आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको जनाइएको छ ।

सङ्घीय राजधानी काडमाडौँदेखि ३० किलोमिटरको दूरीमा अवस्थित सदरमुकाम धुलिखेलका ४९ होटलमा ९९२ ले प्रत्यक्ष रोजगारी पाएका छन् । धुलिखेल नगरपालिकामा ५९५ कर्मचारी पूर्णकालीन छन् भने समग्र जिल्लाका ८०१ कर्मचारी होटलमा कार्यरत रहेका छन् । धुलिखेलमा भएका होटलमा कार्यरत जनशक्तिका लागि वार्षिक रु १८ करोड ४५ लाख खर्च हुने गरेको क्षेत्रीय होटल सङ्घले जनाएको छ ।

सङ्घका अनुसार धुलिखेलमा होटलमा लगानी गरिएको सवा रु आठ अर्बमध्ये रु दुई अर्ब ४८ करोड ९० लाख ७२ हजार बैंकको लगानी रहेको हो । यहाँका होटल व्यवसायीले राज्यलाई रु १३ करोड ३५ लाख तथा धुलिखेल नगरलाई रु ३२ लाख ७५ हजार तिर्ने गर्छन् । सङ्घका अध्यक्ष प्रमकण्ठ माकजु श्रेष्ठले धुलिखेलमा रहेका होटलमा ९७२ कोठामा एक हजार ७४५ बेड रहेको जानकारी दिए ।

उनले भने, “स्थानीय सरकारसँगको समन्वयमा धुलिखेलमा थप पर्यटन विकासकार्य गर्न यहाँका व्यवसायी तयार रहेका छन् ।” नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले धुलिखेलको पर्यटन विकासका लागि बोर्डले आवश्यक सहयोग गरिरहेको बताए ।

धुलिखेल नगरका संस्थापक प्रमुख बेलप्रसाल श्रेष्ठ धुलिखेलमा सरसफाइ र पर्यटकको आगमनका हिसाबले पर्यटनका क्षेत्रमा थप प्रचुर सम्भावना रहेकाले ठूला र सुविधानजनक होटल निर्माण भइरहको बताउछन् । उनी भन्छन्, “धुलिखेलमा पर्यटनमा प्रचुर सम्भावना छ, यहाँका होटलले इतिहास रचेका छन् ।” उनको हिमालयन होराइजन होटल तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको रोजाइको होटल रहेको थियो ।

सङ्घका अनुसार जिल्लामा कूल १२४ होटल छन् । जिल्लाकै अर्को पर्यटकीयस्थल नगरकोटमा ४२ होटल छन् भने बनेपा नगरमा १०, पनौती नगरमा सात, नमोबुद्ध नगरमा पाँच, पाँचखाल नगरमा तीन र दोलालघाटमा आठ होटल रहेका छन् । जिल्लामा कोभिड शुन्य भएपछि पछिल्ला केही महिनादेखि आन्तरिकसँगै बाह्य पर्यटकको चहलपहल भइरहेको सङ्घले जनाएको छ ।

यसैबीच धुलिखेल नगरपालिकाले पर्यटन परिषद् गठन गरी थप योजना निर्माण गरिरहेको जनाएको छ । नगरप्रमुख अशोककुमार व्याञ्जुका अनुसार पर्यटन प्रवद्र्धनका लागि नगरले हालसम्म ५७ पार्क निर्माण गरेको छ । “पर्यटनसँगै सहरी सौन्दर्यीकरणलाई प्राथमिकतामा राख्दै पुराना सहरको संरक्षण गरी पुनर्जीवन दिन परियोजना सुरु गर्दैछौँ”, व्याञ्जुले भने ।

यस्तै नगरले ‘एक वडा, एक होमस्टे’को योजना निर्माण गरी कार्यान्वयन सुरु गरिएको, नगरले व्यवसायीसँगको समन्वयमा नगरलाई सांस्कृतिक, ऐतिहासिक तथा प्राचीनताको संरक्षण गर्ने गरी योजना अघि बढाएको जनाएको छ ।

‘एशिया प्यासिफिक रिजन’को सदस्यता पाएको धुलिखेलले स्थानीय, प्रदेश, केन्द्र हुँदै अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र पर्यटनसम्बन्धी गतिविधिबारे जानकारी गराइरहेको नगरप्रमुख व्याञ्जुले बताए ।

उनका अनुसार धुलिखेलमा ट्रिटमेन्ट प्लान्ट निर्माण, फोहरमैला व्यवस्थापनमा लगानी गरिरहेको तथा कोभिडको समयको होटललगायत व्यापारिक सङ्घसंस्था एवं धुलिखेलका बासिन्दालाई फोहरमैलामा कर छुट तथा स्थानीयलाई रोजगार दिने संस्थालाई १० प्रतिशत कर छुट दिने गरेको छ । नगरले तीन वर्षदेखि करको दर नबढाएको व्याञ्जुले बताए ।

यस्तै धुलिखेलमा पृथ्वीनारायण शाह र बलभद्र कुँवरको शालिक निर्माण भइसकेको छ भने गुरुप्रसाद मैनालीको शालिक निर्माणको तयारी भएको छ । धुलिखेलस्थित टुँडिखेलमा रोज–पार्क, राष्ट्रपति पार्क, अपाङ्गमैत्री ट्रेल, प्रकोपमैत्री ट्रेल, बजारमा १०० वर्ष पुराना सामग्री राख्ने गरी धुलिखेल सङ्ग्रहालय निर्माणाधीन अवस्थामा छन् ।

धुलिखेलमा पर्यटन क्षेत्रको विकास हुँदा गरिबी न्यूनीकरण भइरहेको, साक्षर तथा बालमैत्री नगर निर्माणमा सहयोग पुगेको बताइएको छ । हाल धुलिखेलस्थित देविस्थानमा नगरले रु सात करोडको लगानीमा पार्क निर्माण सुरु गरेको छ । साथै नगरले पाँच वर्षभित्र एक लाख थप बिरुवा रोपण गर्ने जनाएको छ ।

 

वि.सं.२०७९ असार ३ शुक्रवार १७:०७ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...