काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गर्दै यसबारेमा अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको हो ।
नेपालले असंलग्न परराष्ट्र नीति अपनाएकोले कुनैपनि शैन्य गठबन्धनमा सहभागी हुन नसक्ने निष्कर्षसहित एसपीपी अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको बताइएको छ ।
जेठको अन्तिम साता अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चार्ल्स ए फ्लिनले नेपाल भ्रमण गरेपछि एसपीपी सम्झौताका बारेमा सार्वजनिक बहस सुरु भएको थियो ।
एसपीपी नेपालको हितमा नरहेको भन्ने विषयमा सडकदेखि सदनसम्म आवाज उठेको र सत्तारुढ गठबन्धनकै नेताहरु एसपीपी खारेज गर्नुपर्ने आवाज उठाउँदै प्रधानमन्त्री शेर बहादुर देउवाले सदनमै उभिएर एसपीपी सम्बन्धी सम्झौता गर्दैनौ भनेर अमेरिकालाई जवाफ दिनुपर्ने माग गरेका थिए ।
यसैबीच प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार एसपीपीको विषयमा छलफल गर्न बोलाएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नभएपछि उनको आलोचना भएको थियो । जवाफमा देउवाले अमेरिका भ्रमणको औपचारिक तय भएपछि यसबारेमा जानकारी गराउने समितिका सदस्यलाई जवाफ दिएका थिए ।
वि.सं.२०७९ असार ६ सोमवार २०:४९ मा प्रकाशित




























