काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्र विवादमा रहेको एमसीसीसम्बन्धी विषयमा तत्काल छलफल नगर्ने भएको छ । जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीमाथि प्रदेश र संघको चुनाव पछि मात्रै छलफल गर्ने बताएका हुन् । उनले तत्काल पार्टी चुनावी कार्यक्रममा केन्द्रीत हुनुपर्ने भएको कारण एमसीसीलाई थाँती राखिएको बताए ।
“अब प्रदेश र संघीय चुनाव आउने बेला भयो, त्यसपछि पार्टीको विशेष महाधिवेशन गर्ने भनेका छौ” प्रचण्डले बैठकमा भनेका छन्, “एमसीसीका विषयमा त्यतिबेला उपयुक्त समयमा छलफल गरेर किनारा लगाउँला ।”
उनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गरिएको कारण राष्ट्रघाति नभएको पनि प्रष्टीकरण दिएका छन् । “एमसीसीमा राष्ट्रघात भएको छैन, व्याख्यात्मक घोषणा ठीक छ, एसपीपी पनि नगरिने भनिएको छ”, उनले भनेका छन्, “यी सबै विषयमा चुनावपछि छलफल गम्भीररूपमा छलफल गर्छौं ।”
यसअघि बसेको दोस्रो केन्द्रीय समितिको बैठकले एमसीसीबारे अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको थियो । तर, लामो समयपछि बसेको बैठकमा भने एमसीसीको विषयलाई पन्छाइएको छ । बैठकको एजेण्डा प्रस्तुत गर्ने समयमा नै एमसीसी नसमेटिँदा नेताहरुले जिज्ञासा उठाएका थिए ।
तत्कालिन समय एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने विषयमा नेता नारायणकाजी श्रेष्ठसहितको समूहले तिव्र असन्तुष्टि जनाएको थियो । एमसीसी पारित प्रति असन्तुष्ट श्रेष्ठले तत्कालिन समय बेग्लै पार्टी बनाउने विषयमा समेत छलफल गरेको कुरा बाहिरिएको थियो ।
तर, अध्यक्ष प्रचण्डले तत्कालिन समय स्थानीय तहको निर्वाचन लगत्तै केन्द्रीय कमिटीको बैठक बोलाएर छलफल चलाउने आश्वासन दिएका थिए । २० जेठमा बैठक बोलाइएको भएपनि बैठक बस्दै नबसी स्थगित भएको थियो ।
केन्द्रीय समिति बैठकमा एमसीसीको विषयले प्राथमिकता नपाउनुलाई माओवादीभित्र एमसीसी विरोधी समूह क्रमशः मथ्थर हुँदै गएको बुझ्न सकिन्छ ।
वि.सं.२०७९ असार २३ बिहीवार १४:०८ मा प्रकाशित






























