बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा
हरिबोल आफ्नू पहिलो पुस्तक प्रकाशित भएकोमा दङ्गदास थियो । भव्य कार्यक्रम गरेर बरिष्ठ साहित्यकारहरुको भीडमा सानदार विमोचन गरायो ।
प्रकाशित पुस्तक विभिन्न पुस्तक पसलहरुमा पठायो । तीन महिनापछि बिक्रीको अवस्था बुझ्न गयो । एउटा पनि किताब बिक्री नभएको सूचना प्राप्त गर्यो ।
हरिबोल झोलामा किताब हालेर साहित्यकारको ढोकाढोका धाउन थाल्यो । बरिष्ठ, कनिष्ठ साहित्यकार र नेताहरूको हातमा पुस्तक दिंदैगरेका तस्बिरहरुले सञ्जालको भित्तो भरियो ।
यसैक्रममा एकदिन सडकको किनारमा हिंडिरहेको बेला एकजना कवि जस्ता मानिस बाटोको किनारमा बसिरहेको देख्यो । हरिबोलले ती मानिसलाई पनि पुस्तक थमाउने सोच्यो ।
हरिबोलले बोल्ने औपचारिकता पूरा गरेपछि आफ्नू पुस्तक ती मानिसको हातमा राखिदियो ।
पुस्तक दिंदै गरेको सेल्फि लियो ।
पुस्तक लिने व्यक्ति पुस्तक दिनेको मुखमा ट्वाल्ल परेर हेरिरह्यो ।
एकछिनपछि हरिबोलले सोध्यो ।
‘के हेर्नू भएको,यो मैले लेखेको चर्चित पुस्तक हो । नपत्याए सामाजिक सञ्जालमा नियाल्नोस् त । तपाईंले पनि मेरो पुस्तक पढेर सामाजिक सञ्जालमा प्रतिक्रिया पोस्ट गरिदिनु होला ।’
पुस्तक लिनेको ओठमा अनौठो मुस्कान फुट्यो । उनले विस्तारै भने ।
‘म औंठाछाप मानिसले कसरी पढ्नु र बुझ्नु । कालो अक्षर भैंसी बराबर ।’
चर्चित लेखक दायाँबायाँ चियाउँदै हतार–हतार त्यहाँबाट सुइँकुच्चा ठोक्यो ।
वि.सं.२०७९ भदौ ४ शनिवार ०८:१० मा प्रकाशित






























