उत्तम ‘विचार’ काठमाडौं
१
फुलिदिन्थेँ पाखाभरी गुराँस बनेर
लै’बरीको भाकाभरी मिठास बनेर ।
बगाई लग्यो आँसुले नत्र अटाउँथेँ
मायालुको आँखाभरी खास बनेर ।
२
हिमाल, पहाड, तराई विशाल मधेस हुनुपर्छ,
साथमा नेपालीपन झल्काउने भेष हुनुपर्छ ।
दुनियाँलाई हामी नेपाली हौँ भनी चिनाउन,
विश्व मानचित्रमा नेपाल नामको देश हुनुपर्छ ।
३
आँखामा अटाउन फूलझैँ कोमल हुनुपर्छ
मन्दिरमा चढ्न पवित्र गङ्गाजल हुनुपर्छ ।
तिम्रो आसमा झन्डै जलेर म खरानी भएँ,
उजाड हैन मायाको छहारी शीतल हुनुपर्छ ।
४
उस्तै लागेको आगो र पानी नपोलेरै हो,
चिन्न गाह्रो ठुली हो कि सानी नबोलेरै हो ।
फक्रिएपछि नै हो कोपिलाको बैँस फुल्ने,
फिका फिका तिम्रो जवानी नघोलेरै हो ।
५
आँगनीमा माछापुच्छ्रे अटाउने फेवा मेरो,
पोखरा भन्छ पर्यटक घुमाउने सेवा मेरो ।
सारा चिज लगे हुन्छ आँखाभित्र लुकाएर,
माग्नुस् तर दिने छैन प्रकृति हुन् पेवा मेरो ।
.
वि.सं.२०७९ भदौ ४ शनिवार ०८:१३ मा प्रकाशित






























