आज खासगरी सहरी क्षेत्रमा जनसंख्याको चाप थामी नसक्नु छ । पहाडी बस्तिहरु रित्तिँदै गएका छन् । गाउँपालिकाका वडाहरुमा मानिसहरूको संख्या हजारबाट सयमा झर्न थालेको छ । वास्तवमा गाउँमा देखिएको जनसंख्या कागजी मात्र हो । अधिकांशको बसोबास सहरी क्षेत्रमै हुन थालेको छ । गाउँमा केवल पुराना पुस्ताका बा–आमा घर रुंगेर बसेका छन् । कुन दिन छोराछोरीले सहर वा विदेश लान्छन्, त्यो पनि टुंगो छैन । त्यसो भएमा गाउँ थप निर्जन हुनेछ ।
युवाहरु सहर तथा विदेशमा छन् । उनीहरु गाउँमा बस्ने मुडमा छैनन् । गाउँमा आफ्नो भविश्य देखिरहेका छैनन् । गुणस्तरीय जीवन उनीहरुको खोजीको विषय बनेको छ । गाउँमा बनेका विकासका पूर्वाधार (विद्यालय, स्वास्थ केन्द्रहरु, सिंचाइका कुलोहरु, खानेपानीका संरचना इत्यादी)मा गरिएको लगानी प्रयोजन बिहीन बन्दै छ । स्कुलहरु बन्द हुने र मर्ज हुने अवस्थामा पुगेका छन् । यो एउटा गाउँ वा एउटा ठाउँको समस्या मात्रै पनि होइन, अधिकांश पहाडी तथा हिमाली क्षेत्रको चित्र हो ।
सहरी क्षेत्रमा जनसंख्याको चाप थामी नसक्नु हुनु र गाउँ रित्तिँदै जानु, यो सबै असन्तुलित विकासको परिणाम थियो । विकासमा असन्तुलनको गति अझै यस्तै रहने हो भने गाउँ बस्तिहरु खण्डहरमा परिणत हुने निश्चित छ ।
२०४६ सालपछि हिमाली र पहाडी क्षेत्रबाट जनसंख्याको स्थान्तरण सहर र तराईमा केन्द्रित हुन थाल्यो । माओवादी विद्रोहले त्यसलाई थप मलजल गर्यो । यो सबै असन्तुलित विकासको परिणाम थियो । विकासमा असन्तुलनको गति अझै यस्तै रहने हो भने गाउँ बस्तिहरु खण्डहरमा परिणत हुने निश्चित छ । प्रजननदरमा आएको गिरावट र तिव्र गाउँ छोड्नेको लर्कोले राज्यको नीतिलाई चुनौती दिँदैछ । राज्यको नीति ग्रामीण विकास हो वा ग्रामीण सहरीकरण ? प्रष्ट हुन जरुरी छ । नीतिहरुमा प्रष्ट नहुँदासम्म गाउँ बस्तिहरु अझ पातलिँदै जाने छन् । बस्तीहरु निर्जन र खण्डहर बन्ने छन् ।

अबको नीति कस्तो हुने ?
अहिले देखिएको समस्याको अवस्था सुरुवाती हो । यसलाई व्यवस्थापन गर्न नसकिए समस्या थप विकराल हुनेछ । माथि उल्लेख गरिए जस्तै शहरमा जनसंख्याको अत्याधिक चाप हुने र गाउँ खण्डहर हुने अवस्था आउनेछ । यसले थप असन्तुलनको अवस्था सिर्जना गर्नेछ । राज्यको ठूलो हिस्सा ओगटेको गाउँ खण्डहर बन्दा त्यसले उत्पादन प्रणालीमै ठूलो असर गर्नेछ । हाम्रो जस्तो कृषि उत्पादनमा निर्भर देखिएको मुलुकको आर्थिक उत्पादनसम्बन्धमै ठूलो फेरबदल आउनेछ । त्यो फेरबदल सकारात्मक भने हुने छैन । देखिँदै गरेको भयभित चित्रलाई कसरी सन्तुलनमा ल्याउने चर्चा र बहस हुन आवश्यक छ । यहाँ केही त्यस्ता नीतिगत उपायबारे चर्चा गरिएको छ ।
अहिले देखिएको समस्याको अवस्था सुरुवाती हो । यसलाई व्यवस्थापन गर्न नसकिए समस्या थप विकराल हुनेछ । माथि उल्लेख गरिए जस्तै शहरमा जनसंख्याको अत्याधिक चाप हुने र गाउँ खण्डहर हुने अवस्था आउनेछ । यसले थप असन्तुलनको अवस्था सिर्जना गर्नेछ ।
क) सिमित स्रोत साधनले ग्रामीण विकासभन्दा ग्रामीण सहरीकरण गर्न सस्तो र सहज हुन्छ । सहर रोज्नेलाई गाउँमै रोक्न यो नीति ल्याउनु आवश्यक छ । केन्द्रिय तथा स्थानीय सरकारहरुले उपयुक्त क्षेत्र छनौट गरि बस्ती विकास गर्नुपर्छ । ग्रामीण सहरीकरणका लागि उत्प्रेरित गर्नुपर्छ ।
ख) गाउँमा रोजगारीका व्यापक अवसर सिर्जना गर्नुपर्छ । कृषिमा व्यापक रुपान्तरण गर्नुपर्छ । गाउँमै औद्योगिक वातावरण तयार गर्ने नीति लिनुपर्छ ।
ग) छरेर गरिने लगानी एकत्रित गर्न सकेमा तिब्र विकास हुन्छ । जनताको जीवनस्तर गुणस्तरीय हुन्छ । जनताले खोजेको पनि गुणस्तरीय जीवन हो ।
घ) स्थानीयको जग्गा जमिनलाई वन जंगलको जमिनसँग साटफेर गर्ने नीति बनाउनु पर्छ । उत्पादनको आधारमा जमिनको वर्गीकरण गरिनुपर्छ ।
ङ) केही घरमा विकासका पूर्वाधार पुर्याउनुभन्दा बस्ती स्थानान्तरण सस्तो पर्न जान्छ । त्यो खालको नीति बनाउनु बनाउनु अहिलेको आवश्यकता हो ।
च) ठूला सहरमा थप अव्यवस्थापन बढ्दै गएमा सहरलाई महँगो बनाई मानिसहरुलाई गाउँ फर्कन बाध्य पार्नपर्छ । यसले ग्रामीण विकास र ग्रामीण सहरीकरणलाई टेवा पु¥याउँछ । ठीक व्यवस्थापन गर्न नसकिएमा चीनको असफल सांस्कृतिक क्रान्ति जस्तै हुन सक्ने सम्भावना हुन्छ ।
वास्तवमा, जनसंख्याको यो असन्तुलन मिलाउन र सन्तुलित विकास गर्नका लागि सबै तहका सरकारले ग्रामीण सहरीकरणमा नै विशेष जोड दिनु राम्रो हुन्छ । आजको आवश्यकता पनि यही हो । राम्रो शिक्षा, स्वास्थ्य र रोजगार आफ्नै गाउँ बस्तिमा पाउने हो भने मानिस भौँतारिएर सहर पस्दैन । विदेश जाँदैन । आफ्नै गाउँ बस्ती प्यारो हुन्छ । त्यही रमाउन सक्छ ।
वि.सं.२०७९ भदौ ८ बुधवार १०:३१ मा प्रकाशित






























