वसन्त अनुभव,घोराही उपमपा १४, दाङ
बिना सितन एक गिलास तनक्क पारेपछि एक खिल्ली चुरोट निकालेर सल्काएँ । निन्याउँरो अनुहार बनाएर गिलासले मलाई एक टकले हेरिरहेको थियो । उसको अनुहार देखेर मलाई झनक्क रिस उठ्यो ।
“ए … नाथे गिलास ! किन निन्याउँरो अनुहार पा….पारेको हँ ?“
“खान्छु त खान्छु । रक्सी खान्छु, चुरोट खान्छु, ड्रग… सबै खान्छु । त…..तेरो बाउको खा’को छु र ?“
‘अनि तँ क….के मेरो बुढी होस् ? म माथि ह…हैकम चलाउन खोज्ने ?…’
मेरा कुरा सकिन नपाउँदै बोतल खितितिति हाँस्यो; चुरोटको बट्टा मसक्क मस्कियो ।
‘ए.. ! त….तिमीहरू पनि ! मेरो म… मजाक उडाउँछौ ? पख् न ! तिमीहरूलाई सखाप नपारी छोड्दिनँ ।’ अर्को चुरोट सल्काउदै गिलास भर्न बोतल उठाएँ । चुरोटको डिब्बा र बोतल झनै जोड जोडले हाँस्न थाले ।
‘अ…अरे ! अझै हाँस्दैछौ.. ? तिमीहरूलाई मेरो डर लाग्दैन ?’
‘अरे मूर्ख ! तँसँग हामी होइन्, हामीसँग तँ डराउनु पर्छ । तैले हामीलाई होइन्; हामीले तँलाई खाएर जीर्ण बनाइसक्यौँ, बुझिस् ?’ रक्सी र चुरोटले झनै अट्टहास गर्दै भने ।
वि.सं.२०७९ भदौ ११ शनिवार ०८:२३ मा प्रकाशित






























