डिल्ली प्रसाद खराल ‘घायल’
हाल -विरेन्द्रनगर– १ चितवन
१
बोली पिच्छे यदी चुक्न पर्छ भने
न गर्नुस् प्रतिबद्धता लुक्न पर्छ भने
दुई दिनको त्यो हाँसो चाहिदैन
भोली स्वाभिमान झुक्न पर्छ भने
२
भाग्यमा लेखेको हजुर मेट्न सकिनँ
गएर कतै पनि खुशी भेट्न् सकिनँ
मेरा सपनाहरु आज भताभुङ्ग हुँदा
ती चाहाना हरुलाई समेट्न सकिनँ
३
तिमी दुखी भए मलाई पनि पिर हुन्छ
तिमी हाँसेको देखे मेरो मन थिर हुन्छ
यी मेरा आँखाको तिमी समीप न हुँदा
मेरो सामु तिम्रो सुन्दर तस्वीर हुन्छ
४
मेटेर पनि मेटिदैन खोट जिन्दगीमा
न मुटु भित्र देखिन्छ चोट जिन्दगीमा
बाचुन्जेल शिर ठाडो पारी जिउनलाई
सधैं गर्न सक्नु पर्छ अठोट जिन्दगीमा
५
दुःख न परेको जीवनमा कुनै वर्ष भएन
त्यसैले हजुर यो मनमा कहिलै हर्ष भएन
आधी हुरी असिनाले बाचुञ्जेल चुटेपछी
कसरी नभनु जिउनको लागी संघर्ष भएन
वि.सं.२०७९ भदौ ११ शनिवार ०८:२४ मा प्रकाशित






























