भुपाल बहादुर अधिकारी
बिराटनगर –६ रामपुर
बढदैछ हेर, दानवता यहाँ, पशु नै बनेर
रित्तो नै जान्छौ, घाटमा आखिर, जानेछौ मरेर
बेच्दै छौ किन, मानवता तिमी, पसल नै थापेर
आमालाई बेच, बुबालाई बेच, पैसा नै सम्झेर
दुर्योधन रावण, घुमेका हेर, गल्ली र चोक चोकमा
द्रौपदी सीता, सुरक्षित छैनन्, अहिले यो लोकमा
माकुराको जस्तो, कुकर्मको यहाँ, जालो नै फिजाई
पखाल्दैछौ तिमी, ती पाप कर्म, गंगा नै नुहाई
बन्दैछौ कति, बलिका बोका, तन्काई त्यो घिच्रो
अन्याय बिरुद्ध, बोल्दछु म त,चाहे काट यो जिब्रो
मारेर हेर, तोड्दै छन यहाँ, सुन्दर फुलबारी
थुनेर बुद्ध, बोलायौ किन, खुंखार हतियारधारी
कुच्याउछौ कति, गरीबका लास, ढुंगाले हानेर
चितामा घ्यु,थप्दछौ तिमी, प्रेम नै ठानेर
देख्लान कहिले, उज्याला घाम, गाउँ र झुपडीले
लिएर आउलान्, कहिले राम, ती उल्टा खोपडीले
वि.सं.२०७९ भदौ १८ शनिवार ०८:३७ मा प्रकाशित






























