दीनानाथ पोख्रेल, इलाम
लुला हातगोडा बढे कष्ट धेर ।
बुढ्यौली उदाई गलायो जमेर ।।
बितेका कुराको गथासो छ बाँकी ।
बुढ्यौली व्यथाको रडाको छ ताँती ।।०१।।
घुमी फेरि आओस् मीठो बाल्यकाल ।
उखेली हटाओस् कडा यो बिहाल ।।
लुलो भो हियाको क्रियाको विचार ।
यही भावनाले बढायो विकार ।।०२।।
सबै विश्व डुल्थेँ थियो साथ शक्ति ।
गयो दूर भागी फिरोस् गर्छु भक्ति ।।
लट्याङ्ग्रो छ बोली झरे पूर्ण दाँत ।
खुसी फिर्न सक्ने कुनै छैन छाँट ।।०३।।
घट्यो चेत ऊर्जा छ निम्जो शरीर ।
सधैँ दुख्छ माथा हुँदै हुन्न धीर ।।
गए दूर सर्दै सबै व्यक्ति आफ्ना ।
कहाँ शक्ति बढ्थ्यो?कडा हुन्छ खाना ।।०४।।
न छोरा न छोरी सबै दूरमा छन् ।
म सम्झूँ बितेको झनै कष्ट जाग्छन् ।।
उठी कर्म बाटो बढाऊँ बिचारेँ ।
सबै अङ्ग गल्दै थलामै पछारे ।।०५।।
नहोस् जे म भन्थेँ त्यही साथ आयो ।
सधैँ टोक्छ चिन्ता थलामै रुवायो ।।
बुहारी र छोरा खुले प्रेमसाथ ।
खुसी चेत लिन्थ्यो हटाएर ताप ।।०६।।
बुबाले सबैमा खुसी योग्य भर्थे ।
सबै विश्व बुझ्ने निको ज्ञान छर्थे ।।
चिनून् दिव्य आमा खुसीकी पुजारी ।
खुसीमा म राखूँ सबै यो विचारी ।।०७।।
छन्द – भुजङ्गप्रयात
वि.सं.२०७९ भदौ १८ शनिवार ०८:३९ मा प्रकाशित






























