डा. विदुर चालिसे, काठमाडौं
देशमा भ्रष्टाचार बढेको थियो । रोजगारी थिएन । बजार भाउ भसक्कै बढेको थियो । महङ्गीले जीवन धान्न सकिने अवस्था थिएन । एक नागाले भक्तहरूसँग अनुनय विनय गर्दै निर्णय लिएर भने ।
‘बुझ्नु भयो नि ? आजसम्म चपरीमुनीको बास थियो । अब हस्तिनापुरको राज चलाउँछु !’
नागाको उत्साह देखेर सबै भक्तजनहरू हौसिए । सबैको दिन फिर्ने भयो । भोका नाङ्गाहरू तङ्ग्रिने भए । अधर्मको युग एवं अत्याचार समाप्त हुने भयो । भक्तहरूले सोधे ।
‘बाबा ! कुन पार्टीबाट चुनाव लड्ने ?’
‘जोरपाटीबाट !’
‘जोरपाटीबाट चुनाव लडेर नि जितिन्छ त ?’
‘के गर्नु त ! एकल पार्टीबाट लडे हारिन्छ त, अनि ?’
बाबाले रापिलो आगोको धुनीमा चिम्टा गाडे । नजिकै त्रिशुल थियो । त्रिशुलमा जल छर्के । उँधोमुन्टो लगाएर लामो कक्कड धूवाँ छोड्दै भने ।
‘जय शम्भो ! कैलाशपति महादेवको जय !’
बाटोमा एकोहोरो शङ्ख फुकेर एकहुल मान्छे नारा लगाउँदै आए । उनीहरूले नारामा फलाकिरहेका थिए ।
‘हाम्रो स्याउ उम्मेदवार जिन्दावाद !’
नागाले आफ्नो अनुहार यसो छामे । उनको हातमा लट्टेदाह्रीमा लेसारिएको कालो खरानी टाँसिएर आयो । नागा मनमनै गम्न थाले ।
‘कस्तो झ्याउ ! सुकेको गालालाई मत ?’
एकछिन पछि अर्काे माइक बज्यो । माइकमा स्वस्ति वाचनको धुन बजिरहेको थियो । सबैका हात हातमा झण्डा थिए । नारा निकै सौम्य थियो । भीडको तुजुकका बीचमा एक स्वरमा नारा सँगै ट्याउ उम्मेदवारको भाषण घन्क्यो ।
‘अब कानुन बमोजिमको राज हुन्छ ।’
अर्काे कुनामा ढ्याउ उम्मेदवारले पनि ठुलै कोसेली दिइरहेका थिए । उनको मुल मन्त्र थियो ।
‘भ्रष्टाचारीलाई मृत्युदण्ड !’
छेउ कुनामा विरालो झैं लुसुक्क बसेका अर्का म्याउ उम्मेदवार थिए । उनले पार्टी र नेताको बखान गर्दै भने ।
‘यसपाली सरकार हाम्रै हो !’
नागालाई खपिनसक्नु भयो । उनले उम्मेदवारको सूचीमा हेर फेर गरे । आफ्नो हातमा भएको कक्कड फेरि ताने । उनलाई विरक्त लागेर आयो । भने ।
‘पागलहरूको खेती !’
भक्तजनहरू थपडी बजाइरहेका थिए । उनीहरूको आशातीत सपना धुनीको खरानीजस्तै डढिरहेको थियो । अमिलो वायुमा मिसिएको धुँवाँसँगै आँखा टट्टाइरहेको थियो । नागाले हातमा गाँजा मोल्दै भने ।
‘अब देश परिवर्तन गर्छु !’
भक्तहरू बँधिया गुलाम झैं आगो फुकिरहेका थिए । आगोमा धुँवा मडारिरहेको थियो । कसैले सोध्यो ।
‘देश कसरी परिवर्तन हुन्छ !’
‘चुड्कीको भरमा !’
दुईजना ठिटाहरू बाटोमा कुस्ताकुस्ती गरेर झगडा गरिरहेका थिए । एकले अर्काेलाई आरोप लगाइरहेको थियो ।
‘मासु भात तँ मात्रै खाने ? धुन्नकारी !’
वि.सं.२०७९ भदौ १८ शनिवार ०८:४१ मा प्रकाशित






























