उत्तम विचार, काठमाडौं
किन राज्य चल्यो छलछामगरि
किन कामविना गुथियो पगरी ।
सरकार सदैव अगाडि सरोस्
किन निर्णय गर्न पछाडि परोस् ।।१।
बल हैन ठुलो दल हैन बुझी
किन काम बढोस् तर झन् नबुझी ।
नव वाद भनी सपना बदल्यौ
अनि साधु बनी नित भस्म दल्यौ ।।२।
धन आर्जनले मदमत्त अति
तर छैन कुनै गतिलो प्रगति ।
कति नोकर छन् कति चाकरले
गुणगान अझै नगरून् नरले ।।३।
किन बाँच्नु सधैँ जनता भयमा
कति मन्त्र जपून् प्रभुको जयमा ।
कति भोक टरे कति प्यास मरे
कति फुल्नु अगाडि डरेर झरे ।।४।
अति धूमिल लाग्दछ व्योम अहो
छ धुलो र धुवाँ नभमा भरियो ।
अब ढाँट नहोस् गर सत्य कुरा
नव पात बनी भरिऊन् मुजुरा ।।५।
छन्द : तोटक
वि.सं.२०७९ भदौ १८ शनिवार ०८:४५ मा प्रकाशित






























