केही क्षणमा नै क्यानडा र अमेरिकाको बिचमा बेस्सरी सजिएकी दुलही जस्तै भएर हाम्रो चिरप्रतिक्षारत नायग्राफल्स देखियो । दुईवटा ठूला नदीहरु दुईतिर ठूलो झरना भएर एकै ठाँउमा खसेको यो सुन्दर ठाँउ देख्नासाथ म एकछिन सोचमग्न भएँ । सुन्दर, शान्त र शालिन मुद्रामा मलाई नै हरिरहेको जस्तो अनुभूति भयो । यतिलामो यात्रा पश्चात् पनि मलाई एकदम ताजा बनाइदियो यहाँको सौन्दर्यले । जीवनका खुड्किलोमा एउटा सार्थकता थपिएको जस्तो लाग्यो । मनमा खुशीको सीमा रहेन । मलाई संसारलाई भुलेर ठूलो ठूलो स्वरमा कराउँदै भन्न मन लाग्यो, आहा कति सुन्दर !
सेवानिवृत्त हाम्रो बसाई काठमाडौँमा छ । हामी जस्ता धेरै नेपालीका छोराछोरी वर्षौंदेखि अमेरिकालगायत कैयौं देशहरुमा वस्दै आएका छन् । छोरी ज्वाँइ, छोरा बुहारीहरुसँगको पारिवारिक भेटघाट र केही नयाँ ठाउँ पनि घुम्ने योजना बनाएर २०७९ साल जेठ २७ (जुन १०, २०२२)का दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालको भूमिसँगलाई बिदा मागेर करिब पाँच महिनाका लागि संयुक्त राज्य अमेरिका तर्फ लाग्यौं । कतारको दोहा विमानस्थलको केही घण्टाको कुराईपछि अमेरिकाको इलिनोइस् प्रदेशको सिकागो सहरका लागि हामी चढेको हवाईजहाजले स्थानीय समयअनुसार बिहानको ८.३५ बजेको चौध घण्टा चालिस मिनटको यात्रा सुरु ग¥यो । सिकागो पुग्दा स्थानीय समयानुसार दिउँसोको करिब ४ बजिसकेको थियो । डेनबर, कोलोराडो बस्ने छोरी र मिनेसोटा बस्ने छोरा बुहारी विमानस्थल बाहिर हाम्रो प्रतीक्षामा थिए । त्यसपछि हामी सबै उनीहरुले पहिले नै तय गरिसकेको विमानस्थल नजिकैको एउटा होटलमा गयौं । होटलमा केही घण्टा थकाई मारेर हामी पाँचजना समयको सदुपयोग गरिहाल्ने बिचारले सहर हेर्न बाहिर निस्कियौं । यतिवेला साँझको छ बजिसकेको थियो तर बाहिर भर्खर उज्यालो भएको जस्तो चहलपहल देखिन्थ्यो । चिल्ला र फराकिला सडक, सडकलाई ढपक्क ढाकाैंला झैं गरेर लस्करै उभिएका ठूला ठूला रुखहरु, सडक र सडकछेउका घरहरुलाई सजाउन फूलेका बिभिन्न रङ्गका फूलहरुले हाम्रो आगमनलाई नै पर्खिरहेको हो कि जस्तो अनुभूति दिन्थ्यो ।
केहीसमयको यात्रापछि हाम्रो गाडी सिकागोको मुख्यबजार अगाडि रोकियो । हामी सबै गाडीबाट ओर्लिएर यताउती हेर्ने, त्यहाँको चित्रआप्mनो मोबाइलको क्यामेरामा कैद गर्नमा केहीवेर व्यस्त भयौं । हामी बसेको ठ्याक्क अगाडि नै आम्रो स्वागत गर्न उभिएझै ठिङ्ग उभिएको स्टारबक्स कफि पसल देखियो । यो कम्पनी कफिका लागि अमेरिकामा निकै ख्याती प्राप्त मानिन्छ । आप्mनो बाबुको चाहना बुझेका केटाकेटीले उहाँलाई कफी र आपूmहरुलाई मन पर्ने अन्य पेयका ग्लासहरु ल्याए । लामो हवाईयात्रा पछिको थकानले होला मलाई केही खान मन लागेको थिएन । कफीको चुस्की सकिएपछि हामी ह्यामकक टावरतिर लाग्यौं । त्यसको प्रवेश टिकट छोराबुहारीले पहिले नै अनलाईनबाट किनीसकेका रहेछन् । यति गर्दागर्दै रातीको आठ बजिसकेको थियो । वरिपरिको वातावरण रसिलो थियो । पहेंलिदै गएका भएता पनि घाम डुबेका थिएनन् । हाम्रो परिवार र हामी जस्तै सयौं अरु पर्यटकहरु त्यो टावरको ३१४ मिटर अग्लोे ९४औं तल्लामा थियौं । जुम्ला जस्तो पहाडमा जन्मे, हुर्केकी मलाई समेत अहिले हामी भन्दा अग्लो कोही छैन जस्तो भ्रान्ति भइरहेको थियो । तल हेर्दा सिकागो सहरका घर मैले धेरै पहिला टेलिभिजनमा हेरेको हिन्दी भाषाको महाभारत श्रृङ्खलामा देखाईएका भिष्मका शरीरमा पसेका अर्जुनका बाणका तिरहरु झैं आकासतर्फ ठडिएका चुच्चा देखिन्थे । नजिकै धेरै ठूलो मिचिगन ताल जमिनमा लमतन्न परेर सुतिरहेको जस्तो देखिन्थ्यो । हामीले त्यो टावरको वरिपरि एकफन्को मा¥यांै एकातिर मिचिगन तालको स्वच्छ र शान्तपानी र अरु भागमा चुच्चा परेका घर र सम्म परेर पसारिएका बाटाहरु देखिन्थे । घामको रङ विस्तारै विस्तारै पहेंलो हुन थालेको थियो । टावरभित्र जम्मा भएको जमात सबै आ–आफ्नो धुनमा ब्यस्त देखिन्थे । कोही मिलाई मिलाई फोटो खिच्दै थिए त कोही आफ्नो अगाडि भएको दृश्यलाई मनै अघाउञ्जेलसम्म हेर्दै थिए । म पनि यिनीहरुको बिचमा प्रफुल्ल हुँदै कहिले आफ्नै, कहिले परिवारका सदस्यहरुको त कहिले चारैतिर देखिने राम्रा राम्रा दृष्यहरुको फोटो खिच्ने काममा केही समय ब्यस्त रहेँ ।
यस्तै ब्यस्तताका बिच एक्कासी छोराबुहारीले लस्करै बेञ्चहरु राखिएको ठाउँतिर जान इसारा गरे जहाँ लश्करै मानिसहरु बसिरहेका थिए् । हामीहरु पनि सबैभन्दा पछाडि भएको खालि ठाउँमा उभियाैं । यहाँ पनि बस्नलाई ठाउँ त थिएन तर हात अगाडि राखेर हामी सबैलाई हेर्ने ठाउँ जसोतसोसम्म पुग्यो । यहाँबाट सूर्य अस्ताउदै गरेकोे दृष्य अति राम्रोसँग देखिँदोरहेछ । हामी सबैले यो दृष्य राम्रोसँग हेर्न आँखालाई सिधा अगाडिको भागमा केन्द्रित गर्दै थियौं, एक्कैछिनमा हाम्रै अगाडि क्षितिजमा सुनौलो रङको सुर्य बिस्तारै बिस्तारै हाम्रो दृष्टिबाट हराउँदै गइरहेको झैं देखियो । साँझको यो सुनौलो रङ हामी उभिएको वातावरण र तल जमिन भरि फैलिँदै गएको आभास भयो । साँझ पनि विस्तारै छिप्पिन थाल्दा बत्तीहरु झिलिमिली हुँदै बल्न थाले । यति ठुलो सहर, यतिका धेरै अग्ला अग्ला घरहरु, कमिला जस्तै बाटाभरिका एक सुरमा दौडिरहेका गाडीहरु सबै एकनासले बल्न थाले । गर्मीको ऋतुमा अमेरिकाको यस क्षेत्रमा साँझको नौ बजेपछिमात्र घाम डुव्दा रहेछन् । दिनभरिको यात्राबाट लखतरान परेका हामीहरु पनि त्यहाँबाट ओर्लेर बेलुकाको खाना खाने तरखरमा होटलको खोजीमा लाग्यौं ।
प्रत्येक पटक लण्डन गएको वेला मैले हामी नेपालीहरुको स्वादसँग मिल्दोजुल्दो स्वाद भएका कारणले नान्दोज्नाम गरेको होटलमा कहिलेकाँही मौका मिलाएर परिवारसँग खानाखान जाने गरेकी थिएँ । मलाई मात्र हैन घरका अन्य सदस्यहरुलाई पनि यो खाना अन्य बिदेशी खानाहरुका तुलनामा मन पर्ने गर्दछ । त्यसैले बिदेशमा रहँदा बाहिर निस्केको समयमा सम्भव भएसम्म हामीहरु यही नान्दोज् होटलको खोजी गर्ने गर्दछौं । यस सहरमा पनि संयोगले यो होटल सजिलै भेटियो । यहाँको खाना घरका अन्य सदस्यहरु भन्दा मलाई अलि बढि नै मन पर्ने भएकाले बच्चाबच्चीले ‘यस्तै एउटा होटल काठमाडौँमा पनि खोल्न प¥यो कि त यो होटलको शेयर लिन प¥यो मम्मी !’ भन्दै जिस्क्याए पनि । हाँस्दै, गप्फिदै परिवारका हामी सबैजना त्यतैतिर लाग्यौं । रेस्टुरेन्टको बरण्डामा सजाईएका बिभिन्न रङका फूल र ती फूलहरुमा थप चमक ल्याउन सजाएर राखिएका बत्तीहरुको बीचमा राखिएको टेवलमा बसेर नान्दोज्को चिकेन र त्यसैसँग आउने पेरीपेरी ब्राण्डको सस् (चटनी)ले मुख रसिलो पार्दै साँझको खाना खाने काम सकेर रातीको एघार बजेतिर बास बस्ने होटलतर्फ लाग्याैं ।
आज २०२२ जुन १२ आईतबार हामी सिकागो सहरबाट नायग्रा फल्स जाने कार्यक्रमका साथ बिहानै न्युयोर्कतर्फ लाग्यौं । मलाई असाध्यै हेर्न मन लागेको यो झरना, म सन् २०१८ मा अमेरिका आउँदा पनि एकपटक पुग्न मन लागेको थियो । तर, सियाटल, न्यूयोर्क सिटी, वासिङटन डिसी लगायतका अत्यन्त रमणीय ठाउँहरु घुमेता पनि त्यस पटक मेरो अमेरिका भ्रमण जाडोको महिना परेकोले यस समयमा नायग्रा फल्समा हिउँ र बरफ जम्ने भएकोले गृष्म ऋतुमा झैँ रमाइलो नहुने भन्ने भयो । चाहँदा चाहँदै पनि त्यसपटक त्यहाँ पुग्ने कार्यक्रम बन्न सकेन । हामी हिउँ पर्ने ठाउँमा जन्मेका हुर्केकाहरुलाई हिँउले त्यति धेरै आकर्षण गर्दैन । तसर्थ, अर्काेपटक यहाँको गर्मी महिनामा आउने निधो गर्दै नेपाल फर्केका थियौं । दोहो¥याएर फेरि आउन सक्ने सम्भावना रहेका स्थानहरुमा एकैचोटी सबै ठाउँ पुगिहाल्नु हुँदैन, कुनै ठाउँहरु आफ्नो सूचीमा बाँकी नै राख्नुपर्दछ, अर्कोपटक आउने चाहना रहिरहन्छ भन्ने बिचारका मेरो श्रीमान् पनि त्यहाँ पुग्न नपाएकोमा त्यसपटक पछुतोमा हुनुहुन्थेन । यसैले पनि हाम्रो यसपटकको अमेरिका भ्रमणको पहिलो गन्तव्य स्थल बन्यो नायग्रा फल्स अर्थात् अमेरिका र क्यानडाका बिचमा पर्ने एक अद्भूत र अति सुन्दर झरना ।
धेरै समय प्रतीक्षा गरेको ठाँउ त्यसमा पनि प्रकृतिले यस धर्तीलाई दिएको एउटा अनुपम उपहार घुम्न जाने भएका कारण मेरो चञ्चले मन एकोहोरो तरिकाले कताकता भित्रभित्रै उडीजाउँ कि गुडीजाउँ, हाँसीरहु कि बोलिरहुँझैँ भइरहेको थियो । जुरुक्क उठेर हामीले यात्रागरिराखेको गाडीभित्र बजिरहेको नेपाली लोकगीतमा नाचुँनाचुँ कि पनिजस्तो भईरहेको थियो । म साठी बर्ष पुग्न लागेकी नेपाली महिला त्यसमा पनि मेरो साथमा छोरा, छोरी र बुहारी भएकाले पनि सङ्कोच वस् नाचिहाल्न सकिन तर मनमा आएका रहरहरु पटक पटक सबैसँग नबाँडेर रहन पनि सकिन । मलाई नयाँ नयाँ ठाँउ त्यसमा पनि ताल, तलैया, झरना हेर्न असाध्यै मन लाग्छ । चञ्चले मन जसोतसो नियन्त्रण गर्ने प्रयत्न गरिरहेकी थिएँ । सिकागोको होटलबाट भोलिपल्ट बिहानको नौ बजेर दश मिनट जाँदा नायग्राफल्सको लागि हाम्रो चिरप्रतिक्षित् यात्रा शुरु भयो । बाटो पारेर एकपटक केही अन्य रमणीय स्थानहरु हेर्ने र त्यसको फोटो खिच्ने काम भयो । अमेरिकाका चिप्ला र चिल्ला सडक सञ्जालहरुमा अमेरीकाकै एउटा ख्यातिप्राप्त विश्वविद्यालयमा विद्यावारिधि तहमा अध्ययनरत छोराले पूर्ण कुशलताका साथ चलाएको गाडी परिवारका हामी पाँच जना बोकेर आफ्नो गतिमा अन्य गाडीहरुसँग प्रतिस्पर्धा गर्दै हुँइकिदै छ । बाटोको अवस्था हेरेर ८० देखि १३० किलोमिटरसम्मको गतिमा गाडी आफ्नो गतिमा छ । म मात्र हैन गाडीमा भएका सबै एकापसमा भेट्न र घुम्न पाएकोमा प्रफूल्ल मुद्रामा छौं । अझ त्यसमाथि थप आफूलाई मनपर्ने किसिमका कहिले नेपाली त कहिले हिन्दी गीत गाडीमा गुञ्जिँदा त अझ सुनमा सुगन्ध थपिएको थियो नै । सडकमा दौडिरहेका सबै गाडीहरुसँग एकआपसमा तँछाड् मछाड् गर्दै दु्रतगतिमा अगाडि दौडिरहेका छन् । बाटोको दायाँबायाँ गगनचुम्बीे भवनहरु पछाडि छुट्दै जान्थे, हामी अगाडि बढ्दै जान्थ्यौं, बडेमान्का रुखहरु बाटो र गाडीहरुको रक्षा गर्न सडकमा अचल र अजङ्गका देखिन्थे । कतै दुई त कतै तीनचार लेनको एकतर्फी फराकिलो बाटो छ । बाटोका दुबैतिर घाँस काटेर चिटिक्क पारिएको छ । ठाँउ ठाँउमा जङ्गली जनावरका तस्वीर सहितको सुरक्षाबोर्ड छ तथापी कतै कतै मृत जङ्गली जनावरहरु बाटोको छेउमा ढलिरहेका देखिन्छन् भने कतै कतै फूर्तिला जङ्गली जनावर तथा पंक्षीहरुले बाटो काट्दै हुन्छन् । यति धेरै गतिमा बाटोमा गुडिरहेका गाडीहरु ती पशुपन्छीहरुको सुरक्षित बाटो कटाइका लागि आफूलाई जस्तै हतार भए पनि लामवद्ध पर्खेर बसिरहेका देखिन्छन् ।
बाटोभरि गति सिमित गर्ने ट्राफिक सूचनाहरु देखा परिरहन्छन् । ट्राफिक प्रहरीहरुका गाडी पनि सडक नियमपालना भएको छ छैन, सजिलै नदेखिने ठाउँहरुबाट निरिक्षणरत छन् । प्रत्येक दुई घण्टा गाडि चलाएपछि अत्याधुनिक सौचालयका साथ एकछिन आराम गर्ने ठाँउहरु छन् । प्रत्येक यस्ता ठाउँहरुको अगाडि सडक किनारमा थकाई मार्ने ठाउँ यति टाढाको दूरीमा छ भनेर ठूलो अक्षरमा लेखिएको बोर्ड उभिएका हुँदारहेछन् । त्यहाँ आरामसँग वस्न, शौचालय प्रयोग गर्न, पानी पिउन, बोतलमा पानी भरेर लैजान निःशुल्कमा र चिया, कफि, चिसो पेय, नास्तालगायतका सुबिधाहरु सःशुल्कमा उपलब्ध हुँदा रहेछन् । बाटोभरि ठाउँ, ठाउँमा खानाखाने ठाउँ र मुख्य सडकबाट बाहिर निस्कने निकासको दूरी लेखिएका बोर्डहरु झुन्डिएका देखिन्छन् । प्रत्येक एक प्रदेशबाट अर्काे प्रदेश पुग्दा बाटो कर तिर्नुपर्ने रहेछ । यो रकमअलि बढी नै भएको अनुभूति भइरहेको थियो । कर सङ्कलनका लागि कर सङ्कलनस्थलहरु लमतन्न बाटोमा तेर्सिएर बसेका छन् । यसका लागि कतिपय स्थानहरुमा व्यक्ति खटेका हुन्छन् भने कति स्थानमा मेसिनले नै सम्पूर्ण कारोबार गरिरहेको देखियो ।
हामीलाई पनि सात समुन्द्रपारि आफ्ना दाजुभाई भेट्दा खुशी नलाग्ने कुरा भएन, वहाँहरु पनि अमेरिका जस्तो व्यस्त ठाउँमा राम्रा ग्राहक भेटाएकोमा सन्तुष्ट नै देखिनुहुन्थ्यो । तर, त्यहाँको व्यवस्थापन, सौचालय र खानाको गुणस्तर हामीले सोचेको जस्तो पक्कै थिएन, बरु खानाको मुल्य अमेरिकाको स्तरकै रह्यो । हामी खानामा व्यस्त भयौं, उहाँहरु गफ गर्न व्यस्त हुनु भयो । उहाँहरुले यो भोजनालय र खानाको बारेमा प्रचार प्रसार गरिदिनुप¥यो भन्न पनि छुटाउनु भएन । मलाई मनमनै यहाँको सरसफाई र खाना स्वादअनुसारको बनाए त नायग्रा जस्तो पर्यटकीय ठाउँमा ग्राहक आफै आइहाल्थेनी भन्ने लागिरह्यो । काउण्टरमा पैसा तिर्दा हामीबाट नगद नै माग्नुभयोे । हामीले विलको भुक्तानी गरेर उहाँहरुको मुस्कुराएको अनुहारमा एकपटक फेरि हेरेर नमस्ते साट्दै होटलबाट बाहिरियाै ।
लामो बाटो प्रयोग ग¥यो भने अलिथोरै कर तिर्न पर्ने छोटो बाटो प्रयोग ग¥यो भने धेरै कर तिर्न पर्ने रहेछ । हाम्रो यात्रा सिकागोबाट करिब ५४४ माईल अर्थात ८७५ किलोमिटरको थियो । यो यात्रा लामो भएकोले हामीले छोटो बाटो रोज्यौं, जसका कारण यस यात्रामा अलि बढि नै कर तिर्नप¥यो । गाडी दु्रतगतिमा दौडिरहेको छ र भर्खर देखिएका सडक किनारका दृश्यहरु स्वयम् दगुरेर पछिल्तिर भागेझैं आभास भईरहेको छ । आजपनि अपत्यारिलो तरिकाले हिजोको झैं घामको रङ पहेंलो हुनथालेको छ । बाटोमा पर्ने प्रदेशहरु इलिनोइस, इन्डियाना, ओहिओ, पेन्सिलभेनिया पार गरेर गाडीले न्यूयोर्क प्रदेशमा पर्ने नायग्राफल्समा पहिल्यै बुक गरेको होटलमा पाङ्ग्रा टेक्दा साँझ परिसकेको थियो । साँझ भनेको कुनै क्षण होइन, एउटा समय हो । यसलाई उज्यालो, अँध्यारो बीचको सीमा रेखा पनि भन्न मिल्छ । हामी पनि समयको त्यही सीमारेखामा मेरो सपनाको गन्तव्यस्थल अर्थात् नायग्रामा आईपुगेका थियौं । होटलको काउण्टरमा बसेका कर्मचारीले राती ठीक दश बजे नायग्राफल्समा आतिसबाजी हुनेगर्दछ हेर्न जानुहोला, रमाईलो हुन्छ भनेर हामीलाई जानकारी दिए । हामी कोठामा नुहाईधोइ ताजा भएर बाहिर निस्कीयौं । हामी सबैजनालाई भित्रभित्र त्यो दृष्य हेर्न जान हतार भईसकेको थियो ।
एकैछिनमा संसारको एउटा प्राकृतिक आश्चर्य हेर्न साँझपखको मिठो हावासँगै केही मिनटको हल्का ओरालो हिडेका मात्र के थियौं केही क्षणमा नै क्यानडा र अमेरिकाको बिचमा बेस्सरी सजिएकी दुलही जस्तै भएर हाम्रो चिरप्रतिक्षारत नायग्राफल्स देखियो । दुईवटा ठूला नदीहरु दुईतिर ठूलो झरना भएर एकै ठाँउमा खसेको यो सुन्दर ठाँउ देख्नासाथ म एकछिन सोचमग्न भएँ । सुन्दर, शान्त र शालिन मुद्रामा मलाई नै हरिरहेको जस्तो अनुभूति भयो । यतिलामो यात्रा पश्चात् पनि मलाई एकदम ताजा बनाइदियो यहाँको सौन्दर्यले । जीवनका खुड्किलोमा एउटा सार्थकता थपिएको जस्तो लाग्यो । मनमा खुशीको सीमा रहेन । मलाई संसारलाई भुलेर ठूलो ठूलो स्वरमा कराउँदै भन्न मन लाग्यो, आहा कति सुन्दर ! अझ क्यानडातिरको किनाराबाट झरनालाई केन्द्रीत गरेर कहिले रातो, कहिले हरियो त कहिले पहेँलो आदि देखिने बिजुली बत्तीको सजावटले रातीमा त्यसको सुन्दरता अझ थपिदिएको जस्तो लाग्थ्यो । हामी त्यहाँ पुगेको केही समयमै करिव पाँच मिनटसम्म लगातार पटाका पट्की राखे । अँध्यारोमा समेत त्यहाँको जमिन, जङ्गल र जलमात्र नभएर आकास पनि सुन्दर देखियो । हामी सबैमा दिनभरिको यात्राको थकाइको कुनै छन्को रहेन । आँखा झिमिक्क पनि नगरी हेरिरहौं जस्तो मात्र भइरह्यो । करिव आधा घन्टाको झिलिमिलिपश्चात् रातीको साढे दश बजेतिर हामी सबैजनालाई भोक पनि लागिसकेको थियो । मनमनै नायग्रा झरणासँग भोलि बिहान सबेरै फेरि भेट्ने बाचा गरेर हामी खाना खाने होटलको खोजीमा लाग्याैं।
केही मिनटको हिँडाई पछि हामी नेपाली र भारतीय खाना पाउने भनेर लेखिएको एउटा भोजनालयको अगाडि आइपुग्यौं । ग्राहकहरुको स्वागतार्थ बसेका व्यक्तिहरु दुवैजना नेपाली थिए । अमेरिकाको नायग्राफल्समा आएर पनि आफ्नो नेपाली खाना खान पाउने भएकोले हामी पाँचै जना मख्ख थियौं । तर, त्यहाँ भएको सबै खाना भारतीय स्वादको मात्र भेटियो, अर्थात् भनौं दाल तरकारीमा धेरै मसला र चिल्लो भएको । मालिक नेपाली होइन रहेछन् । त्यहाँ काम गर्ने दुई जना कर्मचारी एक जना भान्सेको लुगामा र अर्काे साधारण लुगामा काम गरिरहेका थिए । भोजनालयको सरसफाई अलि कमजोर पाराको अर्थात् अमेरिकन स्तरको देखिँदैनथ्यो । हामी खाना खान थाल्दा उहाँहरु दुबैजना हामी नजिकै उभिएर भलाकुसारी गर्न थाल्नु भयोे । औपचारिकताका साथ हामीले पनि आफ्नो परिचय दियौं । हामीलाई पनि सात समुन्द्रपारि आफ्ना दाजुभाई भेट्दा खुशी नलाग्ने कुरा भएन, वहाँहरु पनि अमेरिका जस्तो व्यस्त ठाउँमा राम्रा ग्राहक भेटाएकोमा सन्तुष्ट नै देखिनुहुन्थ्यो । तर, त्यहाँको व्यवस्थापन, सौचालय र खानाको गुणस्तर हामीले सोचेको जस्तो पक्कै थिएन, बरु खानाको मुल्य अमेरिकाको स्तरकै रह्यो । हामी खानामा व्यस्त भयौं, उहाँहरु गफ गर्न व्यस्त हुनु भयो । उहाँहरुले यो भोजनालय र खानाको बारेमा प्रचार प्रसार गरिदिनुप¥यो भन्न पनि छुटाउनु भएन । मलाई मनमनै यहाँको सरसफाई र खाना स्वादअनुसारको बनाए त नायग्रा जस्तो पर्यटकीय ठाउँमा ग्राहक आफै आइहाल्थेनी भन्ने लागिरह्यो । काउण्टरमा पैसा तिर्दा हामीबाट नगद नै माग्नुभयोे । हामीले विलको भुक्तानी गरेर उहाँहरुको मुस्कुराएको अनुहारमा एकपटक फेरि हेरेर नमस्ते साट्दै होटलबाट बाहिरियाै ।
नायग्राफल्सको पारीपट्टी क्यानडा र वारीपट्टी अमेरिका पर्दाे रहेछ । ठूलो पुलले यी दुई देशलाई जोडेको रहेछ । क्यानडातिर अग्ला ठूला घरहरु र क्यासिनो आफनो तिरको नायग्रालाई सुरक्षा दिन खडा भएका भिमकाय शरीरका सैनिकजस्ता देखिन्छन् । पुल मुन्तिर नायग्रा राजकिय शैलीमा बगिरहेको छ । हामीले डुङ्गा चड्नको लागि टिकट लियाैं र लिफ्टबाट तल ओर्लियाैं नायग्राको समिपमा जान । व्यवस्थापनबाट आगन्तुकहरुलाई उपलव्ध गराइएको निलो बर्सादी लगाएर हामीले डुङ्गा चढ्याैं । डुङ्गाले हामीलाई बगिरहेको नदीबाट फल्समा पु¥याएर भिजायो अर्थात् हामीलाई नायग्राको स्पर्श गरायो । पानी खेलेर बसिरहौं जस्तो, नायग्राको पानीले नुहाइरहौं जस्तो, नायग्रा सधै हेरिरहौं जस्तो । सधै नायग्रासँग बसेर हाँसीरहुँ जस्तो । यतिकैमा हामीले यात्रा गरेको डुङ्गा किनारा लाग्यो । हामी सबैजना राम्रो राम्रो ठाउँबाट फोटो खिच्दै बास बसेको होटलतर्फ लाग्यौं ।
भोलिपल्ट त्यहाँबाट फेरि सिकागो फर्कने कार्यक्रम भएकोले बिहानै केटाकेटी कोही नउठ्दै हामी त्यतै लाग्याैं । मेरो मन अझै अघाएको थिएन किनकी प्रकृतिको अनुपम सुन्दर नायग्रालाई पूर्णरुपमा एकपटक र एकतिरबाट मात्र नियाल्न सकिदैन । एकाबिहानै हामी दुई जना करिब आधा घण्टाको पैदल यात्रापछि नदीको माथिल्लो भागमा पुग्याैं जहाँबाट नायग्राफल्स झरेको छ । फेरि पनि एकपटक अघिल्तिर बगिरहेको नायग्रालाई अन्य पर्यटकहरु सँगसँगै अघाउञ्जेलसम्म हेर्दे, फोटो खिच्दै त्यस बिहानलाई थप रमाईलो बनायौं । भन्नेहरुले त भन्छन् नायग्राफल्स हामीले हेरेको भागको तुलनामा क्यानडा तर्फबाट अझ राम्रो देखिन्छ रे । हामीसँग क्यानडाको प्रवेशाज्ञा नभएका कारणले त्यो अवसर यसपटकलाई जुरेन । तैपनि, जे देख्ने अवसर जु¥यो त्यो पनि कम थिएन । यो अवसर जुराइदिने छोराछोरीहरुलाई मूरी मूरी धन्यवाद् !
म भौतिकवादमा विश्वास राख्ने गर्दछुु । जे छ यही जीवनमा छ, अर्को जुनी भन्ने हुँदैन भन्ने ठान्दछुु । स्वर्ग र नरक भन्ने कुरा कतै छ जस्तो लाग्दैन । प्रकृति नै ईश्वर हो, विज्ञान नै सत्य हो, मानवता नै धर्म हो, कर्म नै पूजा हो भन्ने कुरामा म बच्चैदेखि विश्वास गर्दछु । यहाँको मनमोहक प्राकृतिक सौन्दर्यले पनि मलाई मात्र हैन त्यहाँ पुग्नेहरु सबैलाई एकछिन त भावविह्वल नै बनाउँछ । मैले चाहेर मात्र हुने भए अर्थात् सम्भव हुने भएअहिले नै यतिखेर नेपालमा रहेका मेरा आफन्तजनहरुलाई नायग्राफल्समा एकपटक ल्याएर मैले अनुभूति गरेका क्षणहरुको आनन्दमा सामेल गराउने थिएँ । मबाट सम्भव भए हाम्रो देशमा भएका यस्तै अनगिन्ती मनमोहक ठाउँहरुलाई अरु सुन्दर बनाएर संसार सामु चिनाउने थिएँ । यस्ता कैयौं सुन्दर स्थानहरु आजपनि संरक्षण, सम्वर्धन, प्रचार, प्रसार हुन नसकेका कारण सबै बिग्रदै, भत्कदै गइरहेको कटु यथार्थले परिवारका हामी सबैलाई एकपटक फेरि नराम्रोसँग पीडा बोध गरायो । यही दोहोरो भावलिएर पुनः सिकागोतर्फको यात्रामा लाग्यौं । यस यात्रामा छनौटमा परेका केही चित्रहरु नायग्राफल्सको चिनो स्वरुप पाठकवृन्दमा पस्केकी छु ।
Contact Email: khatri_radhika@yahoo.com
वि.सं.२०७९ भदौ १८ शनिवार ११:५५ मा प्रकाशित





























