काठमाडौं । माच्छापुच्छ्रे बैंक र कृषि कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ । बैंक र कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला र कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात् माच्छापुच्छ्रे बैंकले कृषि व्यवसायको लागि प्रवाह गरेको तीन करोड रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । तीन करोड सम्मको त्यस्तो कर्जा मध्ये एक करोड भन्दा माथीको कर्जाको हकमा भने बैंकले कोषको पूर्व स्वीकृति लिनु पर्ने बैंकले जनाएको छ । बैंकले सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क ०.६ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत मात्र दुई किस्तामा कोषमा बुझाउने जनाएको छ ।
बैंकका अनुसार कोषमा सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असूली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने छ । साथै, उक्त दाबीमा कोषले ८० प्रतिशत सम्म भुक्तानी गर्ने बताइएको छ ।
वि.सं.२०७९ भदौ २३ बिहीवार १२:३१ मा प्रकाशित






























