शरद प्रधानाङ्ग, विराटनगर, मोरङ
१
लज्जा नै उध्रिएपछि ढाकिएको पर्दा अर्थ के रह्यो,
चिप्लेर लडेपछि आधा बाटोमा झर्दा अर्थ के रह्यो,
मूल्याङ्कन आफैले होईन दुनियाँमा अरूले गर्छ,
जिउँदै किस्ता किस्ताको तडपन मर्दा अर्थ के रह्यो ।
२
आवश्यकता भन्दा ठूलो केहि हुँदैन संसारमा,
आवरणले भोको आँतलाई छुँदैन संसारमा,
परिश्रम नै शक्ति हो शक्ति संचित गरौं सबैले,
हिम्मत र आँट हुनेको आँखा रूँदैन संसारमा ।
३
तिमीले र मैले देखेको सपना अलि फरक रहेछ,
म त यसै बदनाम थिएँ तिम्रो तडकभडक रहेछ,
सम्हालिन आफैलाई कति गाह्रो भयो जिन्दगी,
आज स्वार्थले थाहा भयो जिन्दगी सबक रहेछ ।
४
संघर्ष हो जीवन, कहिले अँध्यारो कहिले उज्यालो हुन्छ,
चम्किन्छ जून अनि ताराहरू आकाशमा रात कालो हुन्छ,
सहनुपर्छ जिन्दगीमा कैयौं चोटहरू नदीले पाए जस्तै,
अहम् नगर्नु महोदय आज तिम्रो भोली मेरो पालो हुन्छ ।
५
विद्वान हुँदैन कोहि कालो कपाल सेतो पाक्यो भन्दैमा,
कलियुग हिजोआज विहान हुँदैन भाले बास्यो भन्दैमा,
जीवनलाई हरेक पाइलामा गोडमेल र मलजल गर्नुपर्छ,
कहाँ नेतृत्व परिपक्व हुन्छ तिनपाने तान्यो भन्दैमा ।
वि.सं.२०७९ असोज १ शनिवार ०८:१६ मा प्रकाशित






























