back
CTIZAN AD

रुपान्तरणको कसीमा ‘प्रताप’को अवसान

वि.सं.२०७९ असोज ३ सोमवार

1K 

shares

आठ दशक शिशिर छिचोलिसकेका ठाकुरप्रसाद पौड्यालको मन उसैगरी उडेको छ यतिबेला जसरी छिनछिनमा आफू बसेको भूगोलमाथि उड्छन् विमान । लघु कौमुदी र ऊ बेलाको प्रथमा परीक्षा उत्तीर्ण उनले उपत्यकाका हाई कमिशनरको अफिसमा बहिदारको जागिर सुरू गर्दा मासिक रू. ५५।– बेतन बुझ्थे । नयाँ शिक्षा लागू भएको २०२८ सालको सेरोफेरोमा उनी पूर्व सेवाकालीन तालिम लिएर म्याट्रिक पास सरहका स्थायी शिक्षक बने । आधा दर्जन वर्ष शिक्षण, सिकाइमै खर्चिए । तुलबुलायो मन । मनको सकसक शमन गर्नकै खातिर उतिखेरको गाउँ पञ्चायतको सचिव बन्न कम्मर कसे । आधा वर्षे तालिमपश्चात् स्थायी जागिर आरम्भ गरे सचिवको र रमाए तेह्र हिउँद त्यही इलममा । छिमेकी जिल्ला तनहूँको किहुँमा सेवा गर्दागर्दै अन्तरमनले भन्यो, “छाड्दे ठाकुरे यो नोकरी । आफैँ व्यवसाय गर् र बन् स्वाभिमानी । मार्क्सवादलाई जीवनदर्शन ठान्ने तैँले जागरूक पार्नुपर्दैन तमामखाले विभेदविरूद्ध सर्वसाधारणलाई ?” अन्तरहृदयको स्वर गौर गरी सुने उनले र ठेले राजीनामा नोकरीबाटै । फर्के आफ्नै थातथलो । एउटा विचार फुर्यो उद्यमशीलताको । कुटानीपिसानी गर्न आफूलगायत छरछिमेकलाई समेत सहज होस् भन्ने हेतुले मिल चलाए । त्यो पनि बायोग्याँसबाट । डेढ लाखमा हिन्दुस्तानको पटना पुगेर ल्याएको मिल आफूसँग सीप नहुँदा छ वर्षमै कवाडीलाई कौडीको भाउमा बुझाउनुपर्यो । त्यसैताका लहडलहडमै तरकारी खेती पनि गरे । सोतीपसल बजारसम्म तरकारी ढुवानी गरिदिने भरिया नभेट्दा आफैँले थाप्लो कुच्याएर लाने गर्थे तरकारी । मिल चलाउन छोरीसँग धेरथोर सीप त थियो तर, पूरै व्यवस्थापन गर्न उनलाई पनि हम्मेहम्मे पर्यो । रहरेको खहरेसिवाय यो व्यवसाय पनि ताइँ ताइँ फुस्सा सिवाय केही भएन । अस्थिर र असफलतुल्य बनिरहे ठाकुरप्रसाद एकपछि अर्को गर्दै हरेकजसो कर्ममा ।

यता हाई कमिशनरको अफिसमा जागिर खाँदा केही समय उनको सरूवा नक्खु जेलमा भएको थियो । त्यही बेला वाचस्पति देवकोटा, गणेश पण्डितसँग परिचय र बाक्लै भेटघाट हुन थाल्यो । त्यसपछि के चाहियो र ! उनी पनि लहसिए मार्क्सवादी स्कुलिङतर्फ । यता तरकारी खेती र मिल सञ्चालनतर्फ विफलता हात लागेकै बेला तत्कालीन माओवादीले “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी व्यवस्था स्थापनाका लागि अगाडि बढौँ” भन्ने नाराका साथ दीर्घकालीन जनयुद्ध घोषणा गर्यो । प्रशासनले उनलाई पनि धुइँपत्ताल खोज्न थाल्यो । भूमिगत भइहाल्ने आँट आएन परन्तु भारी जोखिम बढ्यो । फलतः लुक्ने, छिप्ने दर्मियानमा उनी लागे दमौलीतिर । नेपाल बैंक लिमिटेडबाट कुखुरा फर्म गर्ने भनी कर्जा लिए तर, गरे भैँसीपालन  । तालघरेनिर थियो व्यवसाय । जेनतेन गुजारा चलाउने आयआर्जन भयो । रमाए केही वर्ष यसैमा । जग्गा पनि भाडामा लिएछन् तर, बिचौलियाले सत्यानाश बनाइदिएछ । व्यवसायप्रति मोह टुटेकै बखत माओवादी विद्रोही र सरकारबीच बृहत शान्ति सम्झौता भयो । अर्थोपार्जनका सारा सपना सोत्तर पारेर बने उनी पूर्णकालीन कार्यकर्ता । दिन बित्दै जाँदा माओवादीभित्रै वर्ग छुट्टिन थाल्यो । बलिदान, त्याग र सौर्यलाई ठेकेदारी, द्रव्य र नेता खरिदले गाँज्न थाल्यो । चुनावी टिकट र अन्य नियुक्तिका लिलाम बढाबढ हुन थाले । जनमुक्तिको उदात्तता दोबाटाको बुर्कीसरि बन्यो ।

           माधव घिमिरे ‘अटल’

“मलाई मनपर्छ मेरै गुपचुप मृत्यु, मलाई चाहिएको छैन सालिके मृत्यु, मलाई भनाउनु छैन, म मरेपछि मलाई नै (सहिद १)” यी हरफका सर्जक देवेन्द्र पौडेल (प्रताप) यही २०७९ भाद्र २४ गते कीर्तिशेष भएका छन् । ठाकुरप्रसाद दम्पतीका पाँच सन्तानमध्ये कान्छा हुन् उनी । प्रवेशिकासम्म सबै सन्तानलाई जेनतेन पुर्याएका थिए ठाकुरले उति बेला पनि । संयोगवशः कसैले उच्च शिक्षा हासिल गरे त कसैको बर्कतले सकेन/भ्याएन । माहिला छोराले अलिक आयआर्जनको बाटो पक्रन सकेनन्, न त उद्यमी बन्नतिरै ध्यान दिए । र, पनि चुलो कहिल्यै चिसिएन ठाकुरप्रसादको । उनी मखलेल नै थिए कान्छो सन्तानको गतिविधि नियालेर । पुँजीवादले आर्थिक शोषणमात्र नगरी पुँजीवादी आर्थिक प्रणालीले मान्छेलाई मान्छे हुन नदिएको निष्कर्षमा थिए प्रताप । गणित विषयमा स्नातक अध्ययनरत हुँदाहुँदै उनले लमजुङकै बन्सारस्थित पुरानो द्वारको जयदेवी मा.वि.माशिक्षण पेसाको खेवारा गरे र मैझारो चाहिँ आफ्नै थातथलो निबुवाटारीमा अवस्थित सूर्योदय मा.वि.मा । तीन वर्षदेखि अविराम देशमा सल्किएको मुक्तियुद्धको लप्काले यत्तिकै किनाराको फड्के साक्षी बस्न उनलाई दिएन । पेसालाई तिलाञ्जली दिएर २०५५/५६ मा हाम्फाले झ्वाम्म र अँगालो हाले ग्वाम्लाङ्ङ जनसमरको ध्येयलाई ।

२०६० सम्ममा त युद्धरत पार्टीको जिल्ला सेक्रेटरीजस्तो गहन भूमिकामा उनले आफूलाई स्थापित गराइसकेका थिए । ती भीषण युद्धका दिनमा कहिले राज्यसंरचनासँगको भिडन्तमा स्वयम् भाग लिए र बालबाल बँचे त कहिले पृष्ठभागबाट भरिसक्के सघाए । जनसमरले गन्तव्य नछिचोली विश्राम लियो, शान्ति वार्तामा भाग लिएर । राज्यले विद्रोह सैन्यबलद्वारा निमिट्यान्न पार्न सकेन भने विद्रोहीले पुरानो राज्यसत्तालाई पूर्णरूपेण ध्वस्त पारी आफ्नो ऐँचमा लिन सकेन । शान्ति प्रक्रियामा सामेल भयो पार्टी । सो कालखण्डमा पनि उनले जिल्ला शान्ति समितिको सदस्य र पछि अध्यक्ष भएर आफ्नो गहन दायित्व निर्वाह गरे । वृहत् शान्ति सम्झौताको खिरिलो डोरीमा समरको बलिदानलाई जानअन्जान सुम्पिइयो । अब भने प्रतिक्रान्तिका पालुवा पलाउन थाले । उनलाई केही प्रतिक्रान्तिका मतियारहरूले व्यक्तिहत्याको किटानी जाहेरी दिएर फसाउन खोजे, जसको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगले आजतक गर्न सकेको छैन । र त भन्थे उनी, “शोषक वर्गीय सत्ता नयाँ–नयाँ रूपमा सर्वहारा श्रमिक जनतालाई शोषण गरिरहन्छ । सर्वहारा श्रमिकजनको सत्ता स्थापनार्थ सर्वहारा श्रमिकहरू पुनः जुटेर लड्नुको विकल्प छैन ।”

यसैबीच युद्धपश्चात् जनयुद्धबाट अवतरित माओवादी धारामा अनेक निहुँ र बहानामा विखण्डन आउन थाल्यो । टुटफुटको शृङ्खलामा उनी पनि अस्थिर बन्न अभिशप्त भए । मूलधारबाट विमुख भए र एकीकृत जनक्रान्तिलाई अँगाल्ने हदसम्म पुगेका उनी पुनः मूलप्रवाहमै समाहित हुन आइपुगे तर, केन्द्रीय भूमिकाबाट कटेर । शिखर पुगेपछि साख जोगाउन मुस्किल पर्छ भन्ने आफ्नै कथनलाई पनि उनले जोगाउन सकेनन् । आफ्नो खाँचो पार्टीलाई बोध गराई सक्रिय भूमिकामा प्रतिस्थापित गर्न उनी सर्वथा असमर्थ भए किनकि पार्टीलाई उपभोक्तावादले गाँजिसकेको थियो । वर्गीय चरित्र र धारिलोपनबाट पार्टी स्खलित भइसकेको थियो । न त पार्टीलाई बलिदानी इतिहास बोकेको मान्छेको खाँचो थियो न त उनले पार्टीको उच्चस्तरलाई रिझाउन सक्ने गरी द्रव्य सङ्कलन नै गर्न सकेका थिए । “नेपालका हरेक राजनीतिक आन्दोलन, क्रान्ति र युद्धले श्रमजीवी वर्गको अद्वितीय बलिदान लियो किन्तु श्रमजीवीलाई सत्ता कहिल्यै दिएन । केही मुठ्ठीभर गरिबहरू सत्तासीन भएर नवमौसुफ भएको चाहिँ पक्कै देखियो है !” भन्ने यथार्थता औँल्याइरहे अविराम ।

बलिदानको ब्याज तिरेर पनि समानता ऋण लिन पाएनन् उनले । बरू आफू हारेर सामूहिक उम्मिदलाई जिताइरहे । जातीय विभेदको तीव्र खिलाफमा भएका उनले बलात्कारीलाई मात्र होइन छुवाछूत र जातीय विभेद गर्नेलाई पनि मृत्युदण्ड हुनुपर्ने अभिमत राख्थे । र त “बाटो आफैँले बनाउने हो । समाजले छेक्यो भन्दैमा छेकिनु जरूरी छैन” भन्ने जस्ता राय राखि नै रहे । यसैबीच उनी वाम बुद्धिजीवी, पत्रकार तथा अष्ट ज (जल, जमिन, जङ्गल, जडीबुटी, जनावर, जनशक्ति, जलवायु र जराजुरी०का वर्तमान महासचिव नीलकण्ठ तिवारीको सान्निध्यमा पुगे । मूलतः माटोसँग माया गाँस्दै उत्पादनमा जोड दिनु र खाद्य आत्मनिर्भरतातिर देशलाई डोर्याई समृद्धिको द्वार खोल्नु नै अष्ट जको खास अभीष्ट बुझेपछि त्यतातर्फ पनि लहसिए उनी । त्यहीँ भेट भयो उनीसँग वामपन्थी नेता तथा अष्ट जका अध्यक्ष लोककृष्ण भट्टराईसँग । अन्ततः यो अभियानलाई दिलैदेखि आत्मसात गर्न थाले । उत्पादनमा नजोडिएकाले नै माओवादी आन्दोलन सारमा टिक्न नसकेको निष्कर्ष निकालेका थिए अष्ट ज अभियन्ताहरूले ।

उनको सादगी, माओका नियम कडाइपूर्वक लागू गर्ने प्रतिबद्धता र जबर्जस्त कसैसँग केही नलिने उनको आचरण अद्यापि ताजै छ भट्टराईको मष्तिष्कमा । रूचिकै कारणले उनी केन्द्रीय सदस्य पनि बने अभियानको र विभिन्न गतिविधिमा सामेल हुन थाले । आर्थिक अभावको जाँतोमा उनी पिसिइरहे । निराशा र चिन्ताको बन्धनमा मान्छेले आफ्नो जीवनको अस्तित्व कहाँ देख्दोरहेछ र ! यता जीवन सङ्गिनी विष्णुमाया भने उनको अस्थिर चरित्रबाट हैरान थिइन् । एकातिर पुरातन समाजले अन्तरजातीय विवाहलाई हजम गर्न नसकेकाले सिर्जित पीडा भोगिरहन अभिशप्त थिइन् भने अर्कोतर्फ जीवनसाथीको अपेक्षित साथबाट विमुख भएको अनुभूति गर्दै थिइन् । यसका बाबजुद मनोमालिन्य दबाएरै एक्लो सन्तानको उज्जवल भविष्य खोजिरहेकी थिइन् र छन् पनि । यता प्रताप भयङ्कर मानसिक अन्तरद्वन्द्वमा फसेको आभास हुन्छ । “अर्थविहीन जीवन बाँच्नुभन्दा अर्थपूर्ण मृत्यु चाहन्छु म” भन्ने कोराजुन अक्विनोको कथन आत्मसात गरेको प्रतीत हुन्छ उनले । मृत्युलाई भन्दा ठूलो क्षति भित्रभित्रै मरेर बाँच्नु हो भन्ने निर्क्यौल गरेको लख काट्न सकिन्छ उनको हकमा । केही दशक यता सामाजिक आशा, उत्साह, गौरव, भरोसा जस्ता सामाजिक अवयवहरू कमजोर बन्दै गएको परिणति पनि यो अनपेक्षित कदम उनले चालेको अन्दाज गर्न गाह्रो छैन । निःसन्देह जीवनको अन्तिम हरफ हो मृत्यु । तिरस्कार गर्नेले तारिफ गर्ने संयोग पनि हो यो । नियतिले छोटो चोला दिन्छ रे राम्रा मान्छेलाई भन्ने विश्वास गर्ने प्रचलन पनि छँदैछ । चाहे ३० वर्षमा दिवङ्गत भएका मोतीराम हुन् वा ४२ वर्षमा असामयिक मृत्यु वरण गरेका मदन भण्डारी वा ४३ वर्षमा देहत्याग गरेका भैरव अर्याल । तर आफ्ना कर्म र अभिव्यक्तिले यी सबै जीवन्त छन् र रहने छन् ।

भनिन्छ, कसरी बाँच्छ र कसरी मर्छ भन्ने कुराले मान्छेको परिचय दिन्छ । निजी जीवनका सीमित सीमाबाहेक प्रतापले समाज रूपान्तरणमा अविस्मरणीय योगदान गरेको तथ्य घामजत्तिकै छर्लङ्ग छ । यसका बाबजुद आधा आकाशले बीचमै विश्राम लिन गरेको आत्मघाती निर्णयले उनको बाँकी जीवनमा ग्रहणमात्र लागेको छैन, अनेक कानुनी झैझमेला र मानसिक पीडाका भारी बोक्न बाध्य हुनुपर्ने परिस्थिति सिर्जिएको छ । विभिन्न कोणबाट गरिने आशंकाको सिकार हुनु कम्ती धामा छैन । टुक्रिएको हृदय बोकेर बाँच्न पनि त कम्ता कहर हुँदैन । अस्पताल भर्ना भएको दोस्रो दिन मधौरु हेर्न पुगेकी एक्ली दिदी रमा खड्काका आँखा आजतक ओभानिएका छैनन् भने बुबा, आमालाई आश्रय दिइराखेका भिनाजु कान्छा खड्का प्रतापको अन्तर्मुखी स्वभाव र अदलबदल भइराख्ने उनको बानीकै कारण यो अकल्पनीय घटना घट्न पुगेको निष्कर्षमा पुगेका छन् । प्रतापले विषयवस्तुलाई गम्भीर ढङ्गले पर्गेल्न नसकेको उनको ठहर छ । ठिक यति बेला एउटा तप्का भने काखी ठोक्न व्यस्त छ किनकि तिनको लुटको स्वर्गमा जनसमरले ठूलै परकम्प ल्याएको थियो । र, त्यसका जिल्लास्तरीय एउटा नायक प्रताप पनि भएको जगजाहेर छ सबैलाई । समाज सत्यदेखि जति टाढा जान्छ, उति नै बढी सत्य बोल्ने मानिसहरूलाई घृणा गर्न सुरू गर्दछ । फेरि अप्ठ्यारोमा पर्दा दुस्मन प्रसन्न हुने नै भए, प्रत्यक्षरपरोक्ष ।

स्वाभिमानलाई गिर्न नदिने र अभिमानलाई उठ्न नदिने प्रण गर्दा उनी एक्लो वृहस्पतिझैँ हुन पुगे । ‘प’ पछाडि लाग्नेहरूको ताँती नै छ यहाँ अर्थात् पति, पत्नी,पुत्र, पुत्री, पद, पैसा र प्रशंसा । अनि मर्ने बेला पश्चाताप गर्ने र पतन हुने । यी विसङ्गतिबाट उनी नितान्त पर रहे । पसिनाले स्नान गर्नेहरूको इतिहास कोर्ने इरादा थियो उनको जुन अधुरै रह्यो उनको अवसानले । यी सब व्यवधानमाझ यो दुर्घटनालाई व्यष्टिमा बुझियो भने अनगिन्ती प्रतापहरूले यही अप्रिय विधि अपनाउने छन् । शीर्ष वामपन्थी नेता लोककृष्ण भट्टराईले भनेझैँ यो उपभोक्तावादले निम्त्याएको भयानक दुर्घटना हो जसको सूक्ष्म अध्ययन गरी निराकरणको मार्ग यथाशीघ्र अपनाउनु जरूरी छ । अन्यथा तामझामका साथ कसैका नाममा दिइने श्रद्धाञ्जली गोहीका आँसुसिवाय केही सिद्ध हुने छैन ।

याे पनि…

अन्ततः उपभोक्तावादको शिकार भए क. देवेन्द्र

वि.सं.२०७९ असोज ३ सोमवार १४:१९ मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...