back

रुपान्तरणको कसीमा ‘प्रताप’को अवसान

वि.सं.२०७९ असोज ३ सोमवार

327 

shares
NTC AD
Global IME AD

आठ दशक शिशिर छिचोलिसकेका ठाकुरप्रसाद पौड्यालको मन उसैगरी उडेको छ यतिबेला जसरी छिनछिनमा आफू बसेको भूगोलमाथि उड्छन् विमान । लघु कौमुदी र ऊ बेलाको प्रथमा परीक्षा उत्तीर्ण उनले उपत्यकाका हाई कमिशनरको अफिसमा बहिदारको जागिर सुरू गर्दा मासिक रू. ५५।– बेतन बुझ्थे । नयाँ शिक्षा लागू भएको २०२८ सालको सेरोफेरोमा उनी पूर्व सेवाकालीन तालिम लिएर म्याट्रिक पास सरहका स्थायी शिक्षक बने । आधा दर्जन वर्ष शिक्षण, सिकाइमै खर्चिए । तुलबुलायो मन । मनको सकसक शमन गर्नकै खातिर उतिखेरको गाउँ पञ्चायतको सचिव बन्न कम्मर कसे । आधा वर्षे तालिमपश्चात् स्थायी जागिर आरम्भ गरे सचिवको र रमाए तेह्र हिउँद त्यही इलममा । छिमेकी जिल्ला तनहूँको किहुँमा सेवा गर्दागर्दै अन्तरमनले भन्यो, “छाड्दे ठाकुरे यो नोकरी । आफैँ व्यवसाय गर् र बन् स्वाभिमानी । मार्क्सवादलाई जीवनदर्शन ठान्ने तैँले जागरूक पार्नुपर्दैन तमामखाले विभेदविरूद्ध सर्वसाधारणलाई ?” अन्तरहृदयको स्वर गौर गरी सुने उनले र ठेले राजीनामा नोकरीबाटै । फर्के आफ्नै थातथलो । एउटा विचार फुर्यो उद्यमशीलताको । कुटानीपिसानी गर्न आफूलगायत छरछिमेकलाई समेत सहज होस् भन्ने हेतुले मिल चलाए । त्यो पनि बायोग्याँसबाट । डेढ लाखमा हिन्दुस्तानको पटना पुगेर ल्याएको मिल आफूसँग सीप नहुँदा छ वर्षमै कवाडीलाई कौडीको भाउमा बुझाउनुपर्यो । त्यसैताका लहडलहडमै तरकारी खेती पनि गरे । सोतीपसल बजारसम्म तरकारी ढुवानी गरिदिने भरिया नभेट्दा आफैँले थाप्लो कुच्याएर लाने गर्थे तरकारी । मिल चलाउन छोरीसँग धेरथोर सीप त थियो तर, पूरै व्यवस्थापन गर्न उनलाई पनि हम्मेहम्मे पर्यो । रहरेको खहरेसिवाय यो व्यवसाय पनि ताइँ ताइँ फुस्सा सिवाय केही भएन । अस्थिर र असफलतुल्य बनिरहे ठाकुरप्रसाद एकपछि अर्को गर्दै हरेकजसो कर्ममा ।

यता हाई कमिशनरको अफिसमा जागिर खाँदा केही समय उनको सरूवा नक्खु जेलमा भएको थियो । त्यही बेला वाचस्पति देवकोटा, गणेश पण्डितसँग परिचय र बाक्लै भेटघाट हुन थाल्यो । त्यसपछि के चाहियो र ! उनी पनि लहसिए मार्क्सवादी स्कुलिङतर्फ । यता तरकारी खेती र मिल सञ्चालनतर्फ विफलता हात लागेकै बेला तत्कालीन माओवादीले “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी व्यवस्था स्थापनाका लागि अगाडि बढौँ” भन्ने नाराका साथ दीर्घकालीन जनयुद्ध घोषणा गर्यो । प्रशासनले उनलाई पनि धुइँपत्ताल खोज्न थाल्यो । भूमिगत भइहाल्ने आँट आएन परन्तु भारी जोखिम बढ्यो । फलतः लुक्ने, छिप्ने दर्मियानमा उनी लागे दमौलीतिर । नेपाल बैंक लिमिटेडबाट कुखुरा फर्म गर्ने भनी कर्जा लिए तर, गरे भैँसीपालन  । तालघरेनिर थियो व्यवसाय । जेनतेन गुजारा चलाउने आयआर्जन भयो । रमाए केही वर्ष यसैमा । जग्गा पनि भाडामा लिएछन् तर, बिचौलियाले सत्यानाश बनाइदिएछ । व्यवसायप्रति मोह टुटेकै बखत माओवादी विद्रोही र सरकारबीच बृहत शान्ति सम्झौता भयो । अर्थोपार्जनका सारा सपना सोत्तर पारेर बने उनी पूर्णकालीन कार्यकर्ता । दिन बित्दै जाँदा माओवादीभित्रै वर्ग छुट्टिन थाल्यो । बलिदान, त्याग र सौर्यलाई ठेकेदारी, द्रव्य र नेता खरिदले गाँज्न थाल्यो । चुनावी टिकट र अन्य नियुक्तिका लिलाम बढाबढ हुन थाले । जनमुक्तिको उदात्तता दोबाटाको बुर्कीसरि बन्यो ।

           माधव घिमिरे ‘अटल’

“मलाई मनपर्छ मेरै गुपचुप मृत्यु, मलाई चाहिएको छैन सालिके मृत्यु, मलाई भनाउनु छैन, म मरेपछि मलाई नै (सहिद १)” यी हरफका सर्जक देवेन्द्र पौडेल (प्रताप) यही २०७९ भाद्र २४ गते कीर्तिशेष भएका छन् । ठाकुरप्रसाद दम्पतीका पाँच सन्तानमध्ये कान्छा हुन् उनी । प्रवेशिकासम्म सबै सन्तानलाई जेनतेन पुर्याएका थिए ठाकुरले उति बेला पनि । संयोगवशः कसैले उच्च शिक्षा हासिल गरे त कसैको बर्कतले सकेन/भ्याएन । माहिला छोराले अलिक आयआर्जनको बाटो पक्रन सकेनन्, न त उद्यमी बन्नतिरै ध्यान दिए । र, पनि चुलो कहिल्यै चिसिएन ठाकुरप्रसादको । उनी मखलेल नै थिए कान्छो सन्तानको गतिविधि नियालेर । पुँजीवादले आर्थिक शोषणमात्र नगरी पुँजीवादी आर्थिक प्रणालीले मान्छेलाई मान्छे हुन नदिएको निष्कर्षमा थिए प्रताप । गणित विषयमा स्नातक अध्ययनरत हुँदाहुँदै उनले लमजुङकै बन्सारस्थित पुरानो द्वारको जयदेवी मा.वि.माशिक्षण पेसाको खेवारा गरे र मैझारो चाहिँ आफ्नै थातथलो निबुवाटारीमा अवस्थित सूर्योदय मा.वि.मा । तीन वर्षदेखि अविराम देशमा सल्किएको मुक्तियुद्धको लप्काले यत्तिकै किनाराको फड्के साक्षी बस्न उनलाई दिएन । पेसालाई तिलाञ्जली दिएर २०५५/५६ मा हाम्फाले झ्वाम्म र अँगालो हाले ग्वाम्लाङ्ङ जनसमरको ध्येयलाई ।

२०६० सम्ममा त युद्धरत पार्टीको जिल्ला सेक्रेटरीजस्तो गहन भूमिकामा उनले आफूलाई स्थापित गराइसकेका थिए । ती भीषण युद्धका दिनमा कहिले राज्यसंरचनासँगको भिडन्तमा स्वयम् भाग लिए र बालबाल बँचे त कहिले पृष्ठभागबाट भरिसक्के सघाए । जनसमरले गन्तव्य नछिचोली विश्राम लियो, शान्ति वार्तामा भाग लिएर । राज्यले विद्रोह सैन्यबलद्वारा निमिट्यान्न पार्न सकेन भने विद्रोहीले पुरानो राज्यसत्तालाई पूर्णरूपेण ध्वस्त पारी आफ्नो ऐँचमा लिन सकेन । शान्ति प्रक्रियामा सामेल भयो पार्टी । सो कालखण्डमा पनि उनले जिल्ला शान्ति समितिको सदस्य र पछि अध्यक्ष भएर आफ्नो गहन दायित्व निर्वाह गरे । वृहत् शान्ति सम्झौताको खिरिलो डोरीमा समरको बलिदानलाई जानअन्जान सुम्पिइयो । अब भने प्रतिक्रान्तिका पालुवा पलाउन थाले । उनलाई केही प्रतिक्रान्तिका मतियारहरूले व्यक्तिहत्याको किटानी जाहेरी दिएर फसाउन खोजे, जसको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगले आजतक गर्न सकेको छैन । र त भन्थे उनी, “शोषक वर्गीय सत्ता नयाँ–नयाँ रूपमा सर्वहारा श्रमिक जनतालाई शोषण गरिरहन्छ । सर्वहारा श्रमिकजनको सत्ता स्थापनार्थ सर्वहारा श्रमिकहरू पुनः जुटेर लड्नुको विकल्प छैन ।”

यसैबीच युद्धपश्चात् जनयुद्धबाट अवतरित माओवादी धारामा अनेक निहुँ र बहानामा विखण्डन आउन थाल्यो । टुटफुटको शृङ्खलामा उनी पनि अस्थिर बन्न अभिशप्त भए । मूलधारबाट विमुख भए र एकीकृत जनक्रान्तिलाई अँगाल्ने हदसम्म पुगेका उनी पुनः मूलप्रवाहमै समाहित हुन आइपुगे तर, केन्द्रीय भूमिकाबाट कटेर । शिखर पुगेपछि साख जोगाउन मुस्किल पर्छ भन्ने आफ्नै कथनलाई पनि उनले जोगाउन सकेनन् । आफ्नो खाँचो पार्टीलाई बोध गराई सक्रिय भूमिकामा प्रतिस्थापित गर्न उनी सर्वथा असमर्थ भए किनकि पार्टीलाई उपभोक्तावादले गाँजिसकेको थियो । वर्गीय चरित्र र धारिलोपनबाट पार्टी स्खलित भइसकेको थियो । न त पार्टीलाई बलिदानी इतिहास बोकेको मान्छेको खाँचो थियो न त उनले पार्टीको उच्चस्तरलाई रिझाउन सक्ने गरी द्रव्य सङ्कलन नै गर्न सकेका थिए । “नेपालका हरेक राजनीतिक आन्दोलन, क्रान्ति र युद्धले श्रमजीवी वर्गको अद्वितीय बलिदान लियो किन्तु श्रमजीवीलाई सत्ता कहिल्यै दिएन । केही मुठ्ठीभर गरिबहरू सत्तासीन भएर नवमौसुफ भएको चाहिँ पक्कै देखियो है !” भन्ने यथार्थता औँल्याइरहे अविराम ।

बलिदानको ब्याज तिरेर पनि समानता ऋण लिन पाएनन् उनले । बरू आफू हारेर सामूहिक उम्मिदलाई जिताइरहे । जातीय विभेदको तीव्र खिलाफमा भएका उनले बलात्कारीलाई मात्र होइन छुवाछूत र जातीय विभेद गर्नेलाई पनि मृत्युदण्ड हुनुपर्ने अभिमत राख्थे । र त “बाटो आफैँले बनाउने हो । समाजले छेक्यो भन्दैमा छेकिनु जरूरी छैन” भन्ने जस्ता राय राखि नै रहे । यसैबीच उनी वाम बुद्धिजीवी, पत्रकार तथा अष्ट ज (जल, जमिन, जङ्गल, जडीबुटी, जनावर, जनशक्ति, जलवायु र जराजुरी०का वर्तमान महासचिव नीलकण्ठ तिवारीको सान्निध्यमा पुगे । मूलतः माटोसँग माया गाँस्दै उत्पादनमा जोड दिनु र खाद्य आत्मनिर्भरतातिर देशलाई डोर्याई समृद्धिको द्वार खोल्नु नै अष्ट जको खास अभीष्ट बुझेपछि त्यतातर्फ पनि लहसिए उनी । त्यहीँ भेट भयो उनीसँग वामपन्थी नेता तथा अष्ट जका अध्यक्ष लोककृष्ण भट्टराईसँग । अन्ततः यो अभियानलाई दिलैदेखि आत्मसात गर्न थाले । उत्पादनमा नजोडिएकाले नै माओवादी आन्दोलन सारमा टिक्न नसकेको निष्कर्ष निकालेका थिए अष्ट ज अभियन्ताहरूले ।

उनको सादगी, माओका नियम कडाइपूर्वक लागू गर्ने प्रतिबद्धता र जबर्जस्त कसैसँग केही नलिने उनको आचरण अद्यापि ताजै छ भट्टराईको मष्तिष्कमा । रूचिकै कारणले उनी केन्द्रीय सदस्य पनि बने अभियानको र विभिन्न गतिविधिमा सामेल हुन थाले । आर्थिक अभावको जाँतोमा उनी पिसिइरहे । निराशा र चिन्ताको बन्धनमा मान्छेले आफ्नो जीवनको अस्तित्व कहाँ देख्दोरहेछ र ! यता जीवन सङ्गिनी विष्णुमाया भने उनको अस्थिर चरित्रबाट हैरान थिइन् । एकातिर पुरातन समाजले अन्तरजातीय विवाहलाई हजम गर्न नसकेकाले सिर्जित पीडा भोगिरहन अभिशप्त थिइन् भने अर्कोतर्फ जीवनसाथीको अपेक्षित साथबाट विमुख भएको अनुभूति गर्दै थिइन् । यसका बाबजुद मनोमालिन्य दबाएरै एक्लो सन्तानको उज्जवल भविष्य खोजिरहेकी थिइन् र छन् पनि । यता प्रताप भयङ्कर मानसिक अन्तरद्वन्द्वमा फसेको आभास हुन्छ । “अर्थविहीन जीवन बाँच्नुभन्दा अर्थपूर्ण मृत्यु चाहन्छु म” भन्ने कोराजुन अक्विनोको कथन आत्मसात गरेको प्रतीत हुन्छ उनले । मृत्युलाई भन्दा ठूलो क्षति भित्रभित्रै मरेर बाँच्नु हो भन्ने निर्क्यौल गरेको लख काट्न सकिन्छ उनको हकमा । केही दशक यता सामाजिक आशा, उत्साह, गौरव, भरोसा जस्ता सामाजिक अवयवहरू कमजोर बन्दै गएको परिणति पनि यो अनपेक्षित कदम उनले चालेको अन्दाज गर्न गाह्रो छैन । निःसन्देह जीवनको अन्तिम हरफ हो मृत्यु । तिरस्कार गर्नेले तारिफ गर्ने संयोग पनि हो यो । नियतिले छोटो चोला दिन्छ रे राम्रा मान्छेलाई भन्ने विश्वास गर्ने प्रचलन पनि छँदैछ । चाहे ३० वर्षमा दिवङ्गत भएका मोतीराम हुन् वा ४२ वर्षमा असामयिक मृत्यु वरण गरेका मदन भण्डारी वा ४३ वर्षमा देहत्याग गरेका भैरव अर्याल । तर आफ्ना कर्म र अभिव्यक्तिले यी सबै जीवन्त छन् र रहने छन् ।

भनिन्छ, कसरी बाँच्छ र कसरी मर्छ भन्ने कुराले मान्छेको परिचय दिन्छ । निजी जीवनका सीमित सीमाबाहेक प्रतापले समाज रूपान्तरणमा अविस्मरणीय योगदान गरेको तथ्य घामजत्तिकै छर्लङ्ग छ । यसका बाबजुद आधा आकाशले बीचमै विश्राम लिन गरेको आत्मघाती निर्णयले उनको बाँकी जीवनमा ग्रहणमात्र लागेको छैन, अनेक कानुनी झैझमेला र मानसिक पीडाका भारी बोक्न बाध्य हुनुपर्ने परिस्थिति सिर्जिएको छ । विभिन्न कोणबाट गरिने आशंकाको सिकार हुनु कम्ती धामा छैन । टुक्रिएको हृदय बोकेर बाँच्न पनि त कम्ता कहर हुँदैन । अस्पताल भर्ना भएको दोस्रो दिन मधौरु हेर्न पुगेकी एक्ली दिदी रमा खड्काका आँखा आजतक ओभानिएका छैनन् भने बुबा, आमालाई आश्रय दिइराखेका भिनाजु कान्छा खड्का प्रतापको अन्तर्मुखी स्वभाव र अदलबदल भइराख्ने उनको बानीकै कारण यो अकल्पनीय घटना घट्न पुगेको निष्कर्षमा पुगेका छन् । प्रतापले विषयवस्तुलाई गम्भीर ढङ्गले पर्गेल्न नसकेको उनको ठहर छ । ठिक यति बेला एउटा तप्का भने काखी ठोक्न व्यस्त छ किनकि तिनको लुटको स्वर्गमा जनसमरले ठूलै परकम्प ल्याएको थियो । र, त्यसका जिल्लास्तरीय एउटा नायक प्रताप पनि भएको जगजाहेर छ सबैलाई । समाज सत्यदेखि जति टाढा जान्छ, उति नै बढी सत्य बोल्ने मानिसहरूलाई घृणा गर्न सुरू गर्दछ । फेरि अप्ठ्यारोमा पर्दा दुस्मन प्रसन्न हुने नै भए, प्रत्यक्षरपरोक्ष ।

स्वाभिमानलाई गिर्न नदिने र अभिमानलाई उठ्न नदिने प्रण गर्दा उनी एक्लो वृहस्पतिझैँ हुन पुगे । ‘प’ पछाडि लाग्नेहरूको ताँती नै छ यहाँ अर्थात् पति, पत्नी,पुत्र, पुत्री, पद, पैसा र प्रशंसा । अनि मर्ने बेला पश्चाताप गर्ने र पतन हुने । यी विसङ्गतिबाट उनी नितान्त पर रहे । पसिनाले स्नान गर्नेहरूको इतिहास कोर्ने इरादा थियो उनको जुन अधुरै रह्यो उनको अवसानले । यी सब व्यवधानमाझ यो दुर्घटनालाई व्यष्टिमा बुझियो भने अनगिन्ती प्रतापहरूले यही अप्रिय विधि अपनाउने छन् । शीर्ष वामपन्थी नेता लोककृष्ण भट्टराईले भनेझैँ यो उपभोक्तावादले निम्त्याएको भयानक दुर्घटना हो जसको सूक्ष्म अध्ययन गरी निराकरणको मार्ग यथाशीघ्र अपनाउनु जरूरी छ । अन्यथा तामझामका साथ कसैका नाममा दिइने श्रद्धाञ्जली गोहीका आँसुसिवाय केही सिद्ध हुने छैन ।

याे पनि…

अन्ततः उपभोक्तावादको शिकार भए क. देवेन्द्र

वि.सं.२०७९ असोज ३ सोमवार १४:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD