सीता शर्मा ’शीत’, सिक्किम, भारत
चढ्यौ अग्लो शिखरमाथि झरे हुन्थ्यो,
कुनैदिन प्रेमले यो मन भरे हुन्थ्यो,
कुरा गर्छौ सधैँ ती जून ताराको
बनाई घर उतै डेरा सरे हुन्थ्यो,
अहमले हुन्छ के कहिले भलो तिम्रो ?
असल,सत्कर्मको मोती छरे हुन्थ्यो,
मनैमा स्वार्थको खेती लगायौ रे,
सुटुक्कै प्रेमजल त्यसमा परे हुन्थ्यो,
कमलको पातमा पानी अडेजस्तै,
छ छोटो जिन्दगी बुझ्ने गरे हुन्थ्यो !
बहर : हजज मुरद्दफ सालिम
अर्कान : १२२२ १२२२ १२२२
वि.सं.२०७९ असोज १५ शनिवार ०८:५२ मा प्रकाशित






























