कृष्ण बाउसे
सामुद्रिक छालजस्तै
गर्मीले दपेट्दा
झट्ट वाफ बनेर हिमाल पुग्न पाए !
बादलको मखमलजस्तै
चिसो हावाले लखेट्दा
आफैं उँडेर ढपक्क आकाशको गला ढाक्न पाए !
पहिरोमा बग्दै आएको भएपनि
नदिकिनार लागेको अडिलो ढुङ्गो भएर
थपक्क साँघु बोक्न पाए !
रहरलाग्दा पंखहरू उचालेर उड्ने
रङ्गीबिरङ्गी पुतलीहरूसँग क्रिडा गर्दै
कतै फूलबारीमा उड्न पाए !
कतै भीरपहरामा चड्न पाए !
तिर्खाएका यात्रुको सुकेको घाँटी भिजाउन
एक मुठीकै मात्र किन नहोस्
कुनै एँसेलुको झ्याङमुनिबाट
प्याट्ट मुल फुट्न पाए !
ढुङ्गाहरू भएर गुडिँदा गुडिँदै
भरियाका सुस्केरासँगै टक्क अडिएर
थपक्क एउटा चौतारी बन्न पाए !
अनि , उम्रिएर वर–पीपल त्यस चौतारीमा
ह्वात्तै बढेर सयाल दिन पाए !
साँच्चै ! कस्तो सार्थक हुँदो हो यो जिन्दगानी !
चटक्क मिलेका शब्द अनि लय बनेर
मान्छेका धडकन–धडकनमा गाँसिने
मान्छेका ओठ–ओठमा हाँसिने
मीठो लोक–गीत बनेर चट्ट गाइँन पाए !
अनि
मुक्त भएर प्रदूषणको जालोबाट
प्रकृतिको महाउत्सवमा
फेरि उसरी नै
प्रेमरस पिएर मात्तिन पाए !
वि.सं.२०७९ असोज १५ शनिवार ०८:५७ मा प्रकाशित






























