back
CTIZAN AD

कविता : बहाना

वि.सं.२०७९ असोज १५ शनिवार

975 

shares

नरेश कटुवाल, सोनादा, दार्जिलिङ

हिउँदोको उरन्ठिलो यातनासंग
युद्धबन्दी भएर उभिएका बोटहरूमा,
जसो तसो म फूल फूलाउछु
तिमीलाई त्यो फूल मनपर्दैन ।

किरिङमिरिङ कोरिएको
अफ्ठ्यारो जीवनको बाटोहरुमा
धरखरिन्दै जब हिड्छ पाइलाहरू
तिमीलाई मेरो हिंडाई मनपर्दैन ।

घामको स्पर्शले हिमाल फूलेपछि
हातहरूले हरियै हाँसेपछि
चराहरूले पिरति गाँसेपछि
जब म खिच्छु त्यसको तस्बिर
तिमीलाई त्यो दृश्य मनपर्दैन ।

अक्षरका बाँसहरूमा
शब्दका चोयाहरू काटेर
जब म बुन्छु कविताको थुन्चे
तिमीलाई मेरो हस्ताक्षर मनपर्दैन ।

आँखाका औंलाहरूले छोएर
मनले चोबेर रंगहरू
उतार्छु जब म गाउँको चित्र
तिमीलाई त्यो रंग मनपर्दैन ।

आस्थाका देवरालीहरूमा
जब चढाउँछु बिन्तिको फूल
र ढोग्छु भक्तिको शीर
तिमीलाई ती देवता मनपर्दैन ।

रूखको हाँगाबाट
पहेलै भएर झरिपठाएका पातहरू
खोलाको भँगालोबाट एक्लै विछोडिएका अभागी पतिङ्गरहरू,
घरको संघारबाट हेलाले हुत्याईएका कसिङ्गरहरू
जब समेट्न खोज्छु हत्केलाले
तिमीलाई मेरो काम मनपर्दैन ।

अरू थुप्रै थुप्रै मन नपर्नेहरू बिच
निर्दोष फूलेका फूलहरू
निश्चल हाँसेका हिमालहरू
निष्कलङ्क पोखिएका रंगहरू
निष्पाप कुँदिएका अक्षरहरू
निष्काम चलेका हातहरू
निष्पक्ष उभिएका देवताहरू
तिमीलाई मेरो केहि मन नपर्नु भनेको त
केवल, बस् केवल बहाना न हो
खासमा तिमीलाई केहि मन नपर्नु भनेको त
तिमीलाई म नै मन नपर्नु न हो ।
हो ! तिमीलाई म नै मन नपर्नु न हो ।

 

वि.सं.२०७९ असोज १५ शनिवार ०९:०० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...