काठमाडौं । नेकपा एमाले नेता भीम रावलले संदिग्ध र हरियो सर्पलाई कसले हुर्काउँदैछ ? अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । अध्यक्ष ओलीले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीको टिकट पाएर पनि स्वतन्त्र उम्मेदवार बनेका स्थायी कमिटी सदस्य प्रभु साहबारे दिएको अभिव्यक्तिलाई लिएर रावलले प्रश्न गरेका हुन् ।
अध्यक्ष ओलीले प्रभु साहलाई संदिग्ध गतिविधि गर्दै आएको जानकारी रहँदा पनि आफूले टिकट दिएको तर धोका भएको अभिव्यक्ति दिएका थिए । ओलीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाउँदै मंगलबार रावलले सोधेका छन्, “प्रभु साहको विद्रोहबारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो । हरियो सर्प भनेको पनि आयो । संदिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं संदिग्ध र रंगिविरंगी सर्पु किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?”
प्रभु साहाको ‘विद्रोह’ बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो।’हरियो सर्प’ भनेको पनि आयो।’संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइदैछ भन्ने पनि स्पष्ट गर्ने कि?
— Bhim Rawal, PhD (@BhimRawal179) October 11, 2022
साहको पछिल्लो कदमको विरोध गर्दै अध्यक्ष ओलीले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा साहले पहिलेदेखि नै पार्टीभित्र शंकास्पद र संदिग्ध गतिविधि गर्दै आएको आरोप लगाएका थिए ।
रावलले पछिल्लो समय पार्टीमा संदिग्ध गतिविधि गर्ने व्यक्तिहरू र पार्टीलाई घाटा पुर्याउने व्यक्तिहरूलाई अध्यक्ष ओलीले नै संरक्षण र अगाडि बढाउने काम गरिरहेको आरोप लगाउँदै आएका छन् । रावलले राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई सूर्य चुनाव चिह्नबाट टिकट दिएको र जनता समाजवादी पार्टीसँग गठबन्धन गरेकोप्रति पनि असन्तुष्टि जनाएका छन् ।
वि.सं.२०७९ असोज २५ मंगलवार १६:१० मा प्रकाशित






























