मचिन्द्र खत्री, धरान
मिले मित्र मेरा सदा भेट हुन्छ
भए प्रेम दह्रो कहाँ गेट हुन्छ ।
कहाँ छैन मान्छे ? सबै ढाक्न थाले
यता जीवप्राणी सबै भाग्न थाले ।१।
जता जान्छ जत्था उतै त्राश खान्छ
गुलेली र भाला उठाएर हान्छ ।
कतै चोट लाग्दा निकै दुख्छ घाउ
यता प्राण हर्ने भएको छ दाउ ।२।
कहाँ जाग्छ मायाँ कतैबाट आज
जता देख्छु मान्छे उसैकोछ राज ।
दयादृष्टि सारा गयो आज टाढा
कता बाच्न सक्ला कठै बेसहारा ।३।
न फल्ने छ पोथ्रो कहाँ पेटभर्ने
सबै नाश बस्ने कता बास सर्ने ।
तिमी मात्र बाच्ने कहाँ हुन्छ यस्तो ?
दयाभाव तिम्रो भयो आज कस्तो ?।४।
तिमी ज्ञान बाँढ्ने महाउच्च प्राणी
यता दृष्टि राखे दयाधर्म ठानी ।
समानै छ हावा सबै प्राण धान्ने
हुदैहुन्न यस्तो कहाँ तुच्छ ठान्ने ?।५।
छन्द : भुजङ्गप्रयात
वि.सं.२०७९ कात्तिक ५ शनिवार ०९:३० मा प्रकाशित






























