ओम आचार्य, अर्घाखाँची
डर
उसलाई पनि छैन,
कसैलाई पनि छैन,
बाहिर पनि छैन,
भित्र पनि छैन,
तल माथि कतै छैन ।
डर सिंहदरबारबाट फुत्त निस्कियो
बेपत्ता सूचीमा पर् यो,
डर सर्बोच्चबाट लुत्त निस्कियो
लापत्तामा दर्ज भयो,
डर संसदबाट सुत्त निस्कियो
र सहभोजमा मिसिएर फरार भयो ।
डर शासनबाट हरायो
सिध्दान खोज्दैगर्दा,
डर आसनबाट हरायो
दर्शन रोज्दैगर्दा,
डर भासनबाट हरायो
सद्भाव खोज्दैगर्दा ।
यता
डर घरको धुरीमा छैन,
डर करको कुरीमा छैन,
डर तन्त्रको छुरीमा छैन,
डर मन्त्रको पुरीमा छैन,
डर शिक्षाको दीक्षामा छैन,
डर दानपात्रको भिक्षामा पनि छैन ।
त्यसैले
मान्छे मार्न सजिलोछ,
मान्छे तार्न सजिलोछ,
मान्छे पछार्न सजिलोछ
मान्छे ओसार्न सजिलोछ ।
डरै नभए पछि
के को लाज ?
के को सरम ?
के को पाप ?
के धरम ?
के को कालापानी ?
के को नालापानी ?
के को स्वाभिमानी ?
के को सीमा हानी ?
के को घाटा नोक्सानी ?
सम्मैछ डम्मैछ ।
डर छैन
न्याय लिलाम गर्न
अवैध इलम गर्न,
विदेश चर्न,
स्व देश हर्न,
परचक्रीसामू लुत्रुक्क पर्न ।
डर भएपो दुख्छ देश,
डर भएपो लुक्छ लोभ,
डर भएपो जाग्छ इमान,
डर भएपो लाग्छ समान ।
डरै नभए पछि
के को लाज ?
के को सरम ?
के को पाप ?
के धरम ?
के को कालापानी ?
के को नालापानी ?
के को स्वाभिमानी ?
के को सीमा हानी ?
के को घाटा नोक्सानी ?
सम्मैछ डम्मैछ ।
निरोको संगीत बज्दैछ,
देश भिरको डिलमा पुगेको छ,
खस्नलाई ठिक्क नुगेको छ,
कसैसँग बचेखुचेको छ भने डर
आएहुन्थ्यो लिएर अन्तिम पटक,
गएहुन्थ्यो दिएर अन्तिम पटक,
राम राम भन्नू अगाडि
राम नाम सत्य भन्नू अगाडि
यौटाअन्तिम घिडघिसो
शुभकामना भन्नहुन्थ्यो ।
वि.सं.२०७९ कात्तिक ५ शनिवार ०९:३२ मा प्रकाशित






























