सरस्वती श्रेष्ठ, ‘सरू’, पोखरा
ओ, अनामिका !
तिमीले बाँचेको अनाम जिन्दगी
यसै यसै पलाइरहे
धेरै पटक मुर्झाएर पनि
दुखाइको ऐंजेरु पलाउँदै÷सुक्दै
दुखाइको ऐंजेरु सुक्दै÷पलाउँदै
प्रत्येक समय
प्रत्येक प्रहर
कोही आउँछ
सुम्सुम्याउँछ
तिम्रो जिजीविषा,
खेल्छ÷खेलाउँछ
अवस्थित खेलौनाहरू
तिनै खेलौनाहरूको आडमा
तिमीमा अन्तर्निहित सुरहरू÷बेसुरहरू
बज्छन् कि बज्दैनन् कुन्नि !
बजाउँछन् आउनेहरू आफ्नै तालमा
बजाउँछन् आउनेहरू आफ्नै सुरमा
गाउँछन् आउनेहरू आफ्नै लयमा
ओ, अनामिका !
साँच्चै तिमीभित्र
सङ्गीतका झन्कारहरू बझ्छन् कि बज्दैनन् ?
तिमी किन यति विघ्न निरीह बन्छौ आफैसँग
भत्काउ आफूमा निहित
सहिष्णुताको पर्खाल
बगाऊ आफूमा निहित
शीतल शीतल हिमनदीहरू
च्यातिदेऊ मर्यादाका रेशमी रेशमी पर्दाहरू
र फुटाइदेऊ ज्वालामुखी पहाडहरू
तिमीभित्र आगो जन्मनुपर्छ समयको
तिमीभित्र आगो हुर्कनुपर्छ समयको
डड्नुपर्छ खेल्नेहरू–आगोमा
डड्नुपर्छ बजाउनेहरू–आगोमा
डड्नुपर्छ गाउनेहरू–आगोमा ।
वि.सं.२०७९ कात्तिक ५ शनिवार ०९:३४ मा प्रकाशित






























