
विदुर अधिकारी, रामपुर,चितवन
जबजब भवमा नै, सूर्य झुल्केर आए
तब अति मृदु बन्दै, कन्दरा मुस्कुराए
अनुपम गतिमा यो, दिव्य संसार हेरी
निशिदिन रवि छर्छ्न्, दिव्यताको मझेरी ।
. (१)
जब दिनकर छाए, शैल झन् झल्मलाए
अतिशय प्रिय बन्दै, कोइली गान गाए
हरिण,मुजुर नाच्दै,खेतका ती गरामा
सुमधुर पल ल्याए,सूर्य खुल्दा धरामा ।
. (२)
मधुर मधुर लाली,फैलिँदा भूमिमाझ
अधिक भुवन चम्क्यो, झुल्किँदा सत् प्रभात
सकल सुजन गर्छन्, सूर्यको नै पुकार
दिनकर बिनु पक्कै, हुन्न केही सुधार ।
. (३)
हरपल रवि छर्छन्,ज्योति हाम्रा थलामा
दिनदिन किन भर्छन्, तेजधारा गरामा
भन मनुज यहाँ यो, सत्यता नै समाई
किन प्रकृति उदाई,गर्छ हाम्रो भलाइ ।
. (४)
अधिपति जगका सत्,मान्दछौँ सूर्यदेव
अनुपम नभमा नै,चम्किराखे सदैव
जब दिनकर हुन्नन्, अन्ध बन्नेछ सार
सकस अति हुँदामा, सृष्टिको हुन्छ हार ।
. (५)
छन्द : मालिनी