
उमेश अवस्थी आदर्श,बझाङ
यो उनीहरूको समय हो
उनीहरू समय होइनन्
यो नवागन्तुकहरूको समय हो
प्रशंसा नयाँहरूकै हुन्छ
आलोचना पुराना–पुरानाको ।।
मौका मौन हुन्छ
मौकामै हत्या गर्छ कमिलाले हात्तीको
मौकामै शिकार गर्छ
सिंहले हरिणको ।।
यो उनीहरूको समय होइन्
यो परीक्षणकालिन समय हो
ऊ निष्पक्ष, स्वतन्त्र र निडर छ
तर मेरो छोरा ऊ जस्तो कदापि नहोस्
ऊ उनीहरू जस्तो पनि नहोस् ।।
यो समय उडुसको हो,खटमलको हो
र कृनाको पनि
ऊ पनि तयार भएको छ
खटमल निदाएको विस्तरामा निदाउन ।।
यो लार्भाहरूको समय हो
प्युपाहरूको समय हो
पिजडाभित्र छन् लार्भाहरू
काट्न बाँकी छ पिजडामा अड्किएका
वर्षौँ पुराना अस्थिपञ्जर जस्ता हड्डीहरू ।।
हड्डीले हड्डीलाई जोतेर
शरीरमाथि सिचाइ गरिन्छ यहाँ
यो समय हड्डीहरूको समय हो
अब हड्डीहरूको मासु बन्ने पालो छ
यो समय नशाहरूको समय हो
यो समय हिड्नेहरूको समय हो
यो समय खुट्टामाथि अडिने शरीरको होइन
शरीर अड्याउने खुट्टाको समय हो
ऊ निडर छ, निष्पक्ष छ
तर मेरो छोरा ऊ जस्तो नहोस् ।।