अनु विज्ञाति, सुन्दर हरैंचा, मोरङ
‘हिरा, छि ! छि ! त्यो फोहोर उठाउनेको नजिक नजाउँ । फोहोरी छ ।’ हजुरआमाले आफ्नो अगाडिको फोहोर उठाउँदै गरेको सफाई कर्मचारीलाई औँल्याउँदै नातिनीलाई आफूतिर तानिन् र अर्को हातमा भएको फोहोर थुप्रो भन्दा अलि वरै मिल्काईन् । छिमेकीका अरु हजुरआमाहरु पनि उसैगरी हातमा फोहोरका थैला लिएर आए र फोहोर फाल्ने ठाउँ भन्दा अलि वरै फोको मिल्काए । अनि त्यही सफाई कर्मचारीको कुरा गर्न थाले ।
‘छ्या ! यस्तो फोहोर पनि केही होइन जस्तै गरी ढुक्कले उठाउँछ है यसले ?’ एउटी हजुरआमाले भनिन् । ‘यस्ता फोहोरीहरु यस्तै हुन्छन् नी ! नभए यस्तो दुर्गन्धमा कोही काम गर्न सक्छ ?’ अर्कीले थपिन् । ‘छ्या ! यसको जुनी त,!’ अरु सबैले निष्कर्ष निकाले । त्यहीबेला हिराले सोधिन् ‘फोहोर गर्नेलाई फोहोरी भानिन्छ होइन र हजुरआमा ?’ ‘हो नानी’, हजुर आमाले जवाफ दिइन् ।
छिमेकी हजुरआमाहरुले सफाई कर्मचारीलाई देखाउँदै भने, “उ त्यस्तै क्या ।’ हिराले फेरी तिनै हजुरआमाहरुतिर फर्केर प्रति प्रश्न गरिन्, ‘हामीले गरेको फोहोर सफागर्ने उहाँलाई फोहोरी भन्ने हो भने, फोहोर गरेर जताततै मिल्काउने हामीचैँ के नी ?’
वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:४९ मा प्रकाशित






























