विदुर अधिकारी, रामपुर, चितवन
जिन्दगी त खेल हो, खेल्न जान्नु पर्दछ
सभ्यता नियालिँदै, मिल्न जान्नु पर्दछ
खेल सौम्य खेलिए, बन्नजान्छ लायक
झेल गर्न थालिए, हुन्छ त्योविनाशक ।
(१)
साधना उभारिने, प्रेमसाथ खेलिए
सिर्जना हराउने, खेल खेल्न छाडिए
दिव्यता उदाउने, खेल सौम्य राखिए
जिन्दगी मजा हुने,नीति सत् सजाइए ।
(२)
खेल चुम्छ योग्यता,दिन्छ चैनको पला
खेल सत्य खेलिए, चम्किने छ शृङ्खला
खेल दिव्य यान हो, बोक्छ सिर्जना–घर
खेल सौम्य सान हो, टल्किने निरन्तर ।
(३)
खेलमा मिठो कला, साँधिए भलो हुने
खेलमाझ तिर्सना, रोपिए उज्यालिने
कोइली बसी यहाँ, राग गुन्गुनाउँछे
खेल–चौर हो धरा, सत्य यो सुनाउँछे ।
(४)
वंश बढ्छ खेलले, कंस बन्छ झेलले
साथ दिन्छ खेलले, शान्ति मिल्छ मेलले
सौम्य सृष्टि विश्वको, खेल रच्छ ईश्वर
मात्र व्यक्ति पात्र हो, जान सत्य सुन्दर ।
(५)
छन्द : मञ्जुला
वि.सं.२०७९ पुस १६ शनिवार ०८:२७ मा प्रकाशित






























