किशोर कोइराला, इनरुवा, सुनसरी
जीवन, जगत्
अनि जिजीविषा
एउटै अक्षरको
आधार स्तम्भ पक्रेर
ठिङ्ग उभिएका
यी तीन शब्द
सायद पर्यायवाची हुन्
सृष्टिको दृष्टिमा !
जीवन बिनाको जगत्
कल्पनाको परिधिभन्दा
धेरै टाढा,
अझ भनौ–
गोधूलिले छोपेको
तेजहीन सूर्य जस्तै हुन्छ भने
जगत् बिनाको जीवन
शून्यप्राय !!
चिस्सिदै गएको
सूर्यको परिधिभित्र
एक्लोपनमा
रुमलिदै
खुम्चिरहेको जगत् देखेर
शून्यप्राय भएको जीवनमा
जव अभिप्साले
क्रमशः पदार्पण गर्छे,
ठीक त्यसैबेला
आत्माले आत्मालाई
आत्मैदेखि
श्पर्ष गर्न थाल्छ
अनि विजारोपण हुन्छ
असंख्य जिजीविषाहरूको ।
जिजीविषाको
महासागरमा डुबुल्की मार्दै
जव जीवनले
आफ्नै आत्माको
उपहास गर्न थाल्छ
अनि सल्वलाउन थाल्छन्
अतृप्त चिताहरू
जीवन्त नदी किनाराको
सुनसान बगरमा !
थाक लगाएका
दाउराको एक छेउमा
मूकदर्शक भएर
रमिता हेर्न वाध्य भएको
आत्माको ठीक अघिल्तिर
पुुनः शून्यमा परिणत हुन थाल्छन्
जीवन, जगत् अनि
यीनैले जन्माएका
अनगिन्ति जिजीविषाहरू
फगत एक अन्जुली
खरानी भएर !
वि.सं.२०७९ पुस १६ शनिवार ०९:०४ मा प्रकाशित






























