राधा पाण्डे,गैंडाकोट, नवलपुर
समयको जेब्राक्रस कटिसकेपछि
निषेधित क्षेत्रबाट पछ्याउँदै
नआईदिएको भए तिमी ,
यतिखेरसम्म म
गन्तव्यको उकालो पारगरिसकेको हुनेथिएँ
तिमीसंगको भेटले
समयको फेदीमा अल्झेर
साँगुरो भयो
मेरो यात्राको आयाम
कति विषादी रहेछ,
कुसमय तिमी भेटिनुको संयोग !
भाग्य जित्छु भनेर
समयलाई दिएको चुनौती
समय अघि नै तुहियो
मर्दै गए खुसीका सेलहरु
सुक्दै गए उत्साहका हर्मोनहरु
तिम्रो औपचारिकताको अभिनयले,
सबै मारेर मलाई,
खाली खाली बनायो
म एक्लै हिँड्नु
तिमी एक्लै भेटिनु
कति विषाक्त संयोग !
सिङ्गो जीवन डस्ने
विस्वासका चपेराहरु,
स्मृतिको मधुसमा सुरक्षित छँदैछ
पुनः
निषेधित क्षेत्रपार गरि,
यादहरुमा विष घोलेर
अर्को जीवन निष्कृय पार्न,
फेरिअन्त कतै नजानू,
मैले झैं अरुले तिमीलाई माफ नगर्न सक्छन्
मनको टारीमा,
उम्रिएका खुसी मारे बापत,
तिम्रो पनि निदहरण हुनसक्छ ।
वि.सं.२०७९ पुस २३ शनिवार ०७:३० मा प्रकाशित






























