काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को बार्षिक साधारण सभा तथा सघीय परिषद बैठक सम्पन्न भएको छ ।
न्यूयोर्कस्थित् फिप्ना कार्यालयमा जनवरी ८ मा सम्पन्न उक्त साधारणसभा तथा संघीय परिषदको बैठकमा फिप्नाका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्वअध्यक्षहरू र सदस्य संस्थाका अध्यक्ष एवं आठौं महाधिवेशन प्रतिनिधि तथा संघीय परिषद सदस्यहरुको उपस्थिति थियो ।
दुई चरणमा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा नेपाल आदिवासी जनजाति महसंघ अमेरिका (फिप्ना) का अध्यक्ष राज कुमार बिष्टको अध्यक्षता रहेको थियो । पहिलो सत्रमा फिप्नाकी महासचिव टोमा लामाले कार्यक्रमका गतिविधि, क्रियाकलाप र तालिकाको बारेमा प्रकाश पारेकी थिइन् ।
महसचिव लामाले फिप्ना १७ औं वर्ष पार गर्दै गर्दा नेपालीज डायस्पोरामा यसको आफ्नै गरिमामय पहिचान रहेको बताउदै आवस्यक परेका बेला उक्त शक्ति तथा क्षमता अझ पृथक भएर देखाउन सक्ने बताइन् ।
फिप्नाका उपाध्यक्ष माया लामा ह्रयोल्मोको स्वागत मन्तव्य रहेको उक्त पहिलो सत्रमा फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्वअध्यक्षहरू र सदस्य संस्थाका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा फिप्नाका सल्लाकार प्रदिप परियार थापाले आफू नेपालदेखी नै लामो समय आदिवासी मुद्दा तथा आदिवासी हकअधिकारको विषयमा काम गर्दै आएको र अमेरिकामा पनि त्यही कुरालाई निरन्तर पत्रकारिताको माध्यम तथा फिप्नामा सल्लाहकारको रुपमा काम गदैै आएको जानकारी दिए ।
यसैगरी लामो समयदेखी आदिवासी हक अधिकार तथा विकासमा समर्पित समाजसेवी एवं न्यूयोर्कको लागि नेपाल सरकारको पर्यटन सद्भावना दूत केशव राम राईले फिप्नाको १७ औं स्थापना दिवसमा फिप्नाले सम्मान गरेको कुरालाइ स्मरण गरे । उनले फिप्नाको स्थापना कालदेखी हालसम्म आफुले निरन्तर नजिक रहेर काम गरिरहेको र आगामी दिनमा पनि गरिरहने बताए ।
त्यस्तै उपस्थित् सदस्य संस्थाका अध्यक्षहरुले सल्लाह सुझाब सहितको शुभकामना मन्तव्य राखेपछि अध्यक्ष राज कुमार बिष्टले पहिलो सत्रको कार्यक्रम समापन भएको जानकारी दिएका थिए ।
त्यस्तै दोस्रो सत्रमा फिप्नाका संघीय परिषद सभामुख शुर्वण कुमार शाक्यको अध्यक्षतामा संघीय परिषदको बैठक बसेको थियो ।
बैठकमा संघीय परिषदका सदस्यहरु, कार्यसमितिका पदाधिकारी, फिप्ना आठौं महाधिवेशन प्रतिनिधि तथा संघीय परिषद सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकका प्रस्तावित बिषयहरु फिप्ना बार्षिक समीक्षा, वर्तमान चुनौतीहरू, आर्थिक ब्यवस्थापन, बार्षिक कार्य प्रगति प्रतिवेदन, बार्षिक आर्थिक प्रतिवेदन र भावी प्रस्तावित नीति तथा कार्यक्रम जस्ता विषयहरुमा छलफल गरिएको थियो ।
बैठकमा महासचिव टोमा लामाको बार्षिक कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष तुल बहादुार तामाङको बार्षिक आर्थिक प्रतिवेदन र अध्यक्ष राज कुमार बिष्टको भावी नीति तथा कार्ययोजना प्रस्तुत् गरिएको थियो भने, उक्त प्रतिवेदनहरुमाथि बृहत छलफल गरी बैठकले पारित गरिएको थियो ।
अन्त्यमा बैठकको अध्यक्षता गरेका सभामुख शुर्वण कुमार शाक्यले उपस्थित् सम्पूणलाई सक्रिय र सौहार्दपूर्णरुपले बैठकमा सहभागिताको लागि उपस्थित् सम्पूर्णलाई धन्यबाद ज्ञापनको साथै बैठकको समापन गरिएको थियो ।
वि.सं.२०७९ माघ १ आइतवार १६:५० मा प्रकाशित






























