
टङ्कबहादुर आलेमगर, त्रियुगा, उदयपुर
म कृषक
म हलो जुवा र फालीले उधिनेको सियो ।
रहर
सहकाल भित्राउने ।
हत्केलोलाई ठेलोहरूले बिर्से पछि
पेट रमाउदैन
कुँइकी रहन्छ तीतेआन्द्रो
धुरुधुरु रुन्छन्
बाजेका शङ्खचक्र छाप लाग्या
ढुङ्गे गारोहरू
यस्तै
म फत्फताइरहे छु
शब्द नारा उचालेर ।
ब्वङ्ग फूटछ यात्रा
मेरो घर बाट निस्केका खाली ट्रकहरूले
सीमानामा प्रवेश शुल्क बुझाउदै गर्दा ।
म कृषक
म एकहल गोरु ।
धमिलो पहिचान
हराउदै गएका भकारो ।
डिएपी युरियाले माया लाएका बारीहरू
खेतका आलीहरू
छिप्पु लाग्छन् अनुहार
कोरीबाटी गर्ने हातहरूले
परदेशको सुविधा टिपे पछि ।
दम रोगी आमाले …
अक्सिजन नपाए जस्तै
हरेक वर्ष रुन विवश
विविध अभावमा
जेनतेन चलेको कृषि प्रधानको लोगो ।
म कृषक
म अन्नबाली, फलफूल, सागसब्जी ।
कामना गरिरहन्छु
सधैँ तपाईंको पाककोठामा पुगिरहन पाउँ
हरेक गाँसमा स्वदेशी स्वाद दिरहन पाउँ
माग्नु नपरोस् छिमेकीसँग
एकआँग लुगा र एकपेट सन्तुष्टि ।
म कृषक
म पसिना ।
हरेक बुँद यही माटोमा खसिरहोस्
तपतप तपतप ।
म तपाईंको आवश्यकताबाट उब्रेर
विदेशीका इच्छा हुन पाउँ ।
म कृषक
म भकारी र आगनमा हाँसीरहेको धेरै कवले थाङ्ग्रो ।