
अविचल आस्था मणि, म्याग्दे, तनहुँ
१.
सरल समय चेष्टा, भर्छ आनन्द झोली
हर कदम चलेको, डाक्छ साहित्य लोली
उदित किरण सङ्लो खेल्न गट्टा बटोली
हृदय द्रवित पार्छन्, आँत आत्मा टटोली ।
२.
अनुभव जति जम्मै गर्न सेवा छ ध्यान
झलमल छ बनेको सौम्य बान्की इमान
समय रथ छ बन्दै कीर्तिमानी विमान
अजर अमर यात्रा खोल्छ नौलो बिहान ।
३.
मगमग नव बास्ना निस्किए पुष्पराज
असल मति बनेका चेतनामा विराज
अनुपम क्षमतामा गर्दछन् कार्य सिद्धि
अचम गजब सङ्ला पेश गर्छन् प्रसिद्धि ।
४.
हर हरफ म पढ्दा पुग्छु आकाशमाथि
मुसुमुसु म छु हाँस्दै वेदना भाग्छ लाछी
निडर रसिक स्रष्टा सत्य सम्मान ढाँचा
गणितमय बनेको प्रेममा लाग्छ टाँचा ।
५.
चहलपहल प्रष्टै खुल्दुली पूर्ण आँखा
अगलबगल उस्तै मोहनी मन्त्र भाखा
वचन अजर स्रष्टा शोध सन्धान गर्छन्
अमर उचित थाली पुष्प उद्यान भर्छन् ।
६.
समुचित महिमाको अर्थ खोजी मिलाए
सुरभित गरिमा यो स्वच्छ रोजी दिलाए
उकुसमुकुस भागे, स्वस्थ आस्था उघारी
नयन तब जुधेका खेल्न थाल्छन् जुहारी ।
७.
हरफ हरफ पढ्दा पुग्छु आकाश– गङ्गा
सररसर हवामा, खान्छु कावा म चङ्गा
सरल नियम बाँधे, मासियो हूलदङ्गा
वन कुसुम फुलेका रङ्गिए फूल थुङ्गा ।
८.
सलल सलल बग्ने छालको भित्र भित्र
कविमन कविताका झुल्किएको पवित्र
अथकित पद यात्रा शैलका टाकुरामा
अभिनव मन देखेँ व्यासको आँकुरामा ।
९.
अभिनय कति राम्रो श्रेष्ठ चाला सधन्य
पुलकित पुतली छन् नाचमा अग्रगन्य
प्रसरित लय बास्ना शुभ्र आदित्य बेली
हरफ हरफ फुल्छन् आज चम्पा चमेली ।
१०.
अति मधुर छ भाका शारदाको सुसेली
झटपट तब तारा झार्न ताक्छन् गुलेली
रविकिरण चढेका खेल्न थाले सुरेली
भुरुरु भुरुरु उड्छिन् कल्पना झैं जुरेली ।
११.
छलकपट बिनाको जिन्दगी हुन्छ यात्रा
हरफ हरफ पढ्ने गर्छ निम्तो नियात्रा
अभिनव सपनामा विश्व ब्रह्माण्ड पार
सजधज छ गरेको प्रेम माला बहार ।
छन्द – मालिनी