काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यमा देखिएका समस्या समाधानका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै डा. कोइरालाले मुलुक सिकिस्त बिरामी अवस्थामा रहेकाले सरकारलाई गम्भीर बन्न आग्रह गरेका हुन् ।
उनले उद्यम गर्नेहरु हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरु निराश रहेको, व्यापारिक शहरहरु उजाड देखिएको बताए ।
उनले भने,‘गत केही महिनादेखि मैले देशका मूर्धन्य अर्थविद, उद्योगपति, व्यवसायी, व्यापारी र उत्पादनका क्षेत्रमा लागेका साना ठुला अनेकन् समूहसँग अन्तरकृया गर्ने मौका पाएँ । छलफलका क्रममा उहाँहरुको समस्याका बारेमा भरमग्दुर बुझ्ने प्रयास गरें । जोखिम मोलेर, मिहेनत गर्दै आफ्नो उद्यमशीलताको बलमा स्व–पुँजी परिचालन गर्ने, रोजगारी सिर्जना गर्ने र सरकारलाई कर तिर्ने वर्ग अहिले निराश भएको पाएँ । गरिखाने युवा वर्ग सबै विदेश पलायन हुन खोज्नु र यहीं उद्यम गरेर टिक्न खोजेका व्यवसायीहरु हताश मनस्थितिमा रहनु भनेको हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो । यो विषयलाई म गम्भीरतापूर्वक राख्ने अनुमति चाहन्छु ।’
डा. कोइरालाले देशमा आर्थिक संकट छाएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आइलागेको बताए । देशका सबै समस्याको जिम्मेवारी बाह्य शक्तिलाई दोष दिएर पन्छिन नमिल्ने उनको भनाइ थियो । उनले संघीयताप्रति वितृष्णा चुलिँदो रहेको भन्दै यो राजनीतिक असफलताको पहिलो खुट्किलो भएको बताए ।
वि.सं.२०७९ चैत १२ आइतवार १७:५० मा प्रकाशित






























