काठमाडौं । सत्ता साझेदार दलहरुका बीच मन्त्रालय भागवण्डाका विषयमा करिब सहमति बनेको छ । जसअनुसार मंगलबारसम्ममा सरकार विस्तारको काम हुने बताइएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार मंगलबारभित्रै सरकार विस्तारको काम टुंग्याउने तयारी छ ।
“अहिलेसम्म धेरै विषयमा सहमति बनिसकेको छ, भोलि बिहान एक चरण छलफल हुन्छ”, गजुरेलले भनेका छन्, “भोलि साँझसम्म नभए पर्सिसम्म सरकार विस्तारले मूर्तरुप पाउनेछ ।”
सरकार विस्तारको काममा ढिलाइ भइरहेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलका नेताहरुलाई एक्लाएक्लै भेट्दै सहमति खोजिरहेका थिए । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार तीन नेताबीचको छलफल सहमतिमा टुंग्गीएको छ ।
प्रधामन्त्री प्रचण्डले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए । विश्वासको मत लिएसँगै प्रचण्डले बढीमा चार दिनभित्र सरकार विस्तारको काम हुने बताएका थिए । तर, दलहरुका बीच विशेषतः मन्त्रालय संख्या र मालदार मन्त्रालयको विषयमा सहमति बन्न सकेको थिए ।
मन्त्रालय भागवण्डामा करिब सहमति
प्रधानमन्त्री निकट एक नेताले बताएअनुसार मन्त्रालय भागवण्डाको विषयमा दलहरुका बीच करिब सहमति बनिसकेको छ । दलहरुका बीच विशेषतः दलित हैसियतका आधारमा मन्त्रालय टुंग्याउने सहमति बनेको छ । जसअनुसार कांग्रेसले आठ, माओवादी केन्द्रले पाँच, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले दुई/दुई र अन्य दलले एक/एक मन्त्रालय पाउने सहमति बनेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई समर्थन गरेको भएपनि सरकारमा सहभागि हुने वा नहुने निर्णय भइसकेको छैन । रास्वपा सरकारमा सहभागि भएमा तीन मन्त्री र एक राज्यमन्त्री दिने सहमति दलहरुका बीचमा भएको छ ।
वर्तमान सत्ता गठबन्धनमा माओवादी केन्द्रसहित, कांग्रेस, जसपा, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । यी दलहरूमध्ये जनमोर्चाले यसअघि नै सरकारमा सहभागि नहुने बताइसकेको छ ।
वि.सं.२०७९ चैत १३ सोमवार १२:१४ मा प्रकाशित






























