बिर्खे अञ्जान, थाहा, मकवानपुर
उमेर नपुगी चाउरेका मेरो आमाको गाला
दुःखहरूले छोडेर गएकाअवसान सपना
निधारका लामा लामा धर्सा
अभाव झेल्दा झेल्दै बल्झेको ढाडको रोग
र समयसँग पौठेजोरी खेल्दा
हातमा उठेका अनगिन्ती ठेला
हो जब म नियालेर हेर्छु आमाको इतिहास
त्यसबेला मलाई बाको झझल्को आउँछ
भलै आगो जस्तो उम्ले पनि मेरो तातो रगत
घुटुक्क निल्छु आक्रोश
हेर्छु आफ्नै फुल्दै गरेको दाह्री
जीवनमा पहिलो र अन्तिम पटक
नागरिकताको लागि
बाको नाम उच्चारण गरेको मूल्य चुकाउन
मसँग
मेरो कोठामा
सानदार झुण्डी रहेछ
बाको बूढो तस्बिर ।
वि.सं.२०८० वैशाख २ शनिवार ०८:४५ मा प्रकाशित






























