निम्बतरु, अर्घाखाँची
दिमागमा जब ढिँडो सिस्नो खेलिरहन्छ
समाजको कुरा कसरी सोच्नु ?
खहरेले पाँगो माटो ल्याउला
उमारौँला फलाउँला खाउँला ।
दुई किनारभरि ठूलो नदीले बालुवा फ्याँक्दो छ
तैपनि किनाराकृत छन् बस्तीहरु लहरै
मान्छेको मात्रै भर छैन्
नदीको कत्रो भरोसा छ
तर नदी भोको छ
खाइदिन्छ कुनदिन भविष्य
र बालुवा बनाइदिन्छ
कालान्तरमा यसैबाट लगेको
राजकुलो नै नदी बनेर
खाइदिनेछ सपना ।
अलेकजेन्डरले संसार जित्न खोज्ने छ एकदिन
यही खहरेले झैं
यही नदीले झैं
संसार भिजाउने त आखिर बादलले हो
र जित्छ
बुँद बुँद छरेर ।
खहरेले जो दमन गर्छ
नदीले जो बितण्डा मच्याउँछ
गीतपनि उत्तिकै सुरिलो गाउँछ छङ्छङ् छङ्छङ्
यही सुरिलो गीतमा भुलेको छ गरिब ।
वि.सं.२०८० वैशाख १६ शनिवार ०९:५० मा प्रकाशित






























