निरुबिन्दु, कालेबुंग, भारत
बगानका ठूला–ठूला ‘ब्ल्याक बोर्ड’ हरूमा
खलीमट्टी नसिद्धिञ्जेलसम्म
कोरीबस्छ कम्पनीले दर्दनाक अक्षरहरू
अभाव र भोक लेख्छ
परिश्रम र दरिद्रता लेख्छ
ब्यथा र आँसु लेख्छ
हो, लेखिबस्छ किरिङ –मिरिङ पार्दै नबुझ्ने शब्दले,
आफ्नै भाषा–शैलीहरूमा,
अँ हँ, केही बुझ्दिनन् काकीले, बडीले, माइजुले
न त काकाले नै बुझ्छन्
एकाविहानै फिक्का चिया स्वाट्टै पिएर
जब दगुर्छिन काकी बगान
उनले साऊँ –अक्षरहरू देख्छिन् ब्ल्याक बोर्डमा
एक–एक अक्षर जोडेर शब्दको थुप्रो पार्दछिन
अनि, पढिबस्छिन् गर्दै उच्चारण
दश नङ्ग्राहरू खियाउँदै, खियाउँदै
प्रबन्धकहरू लेख्न छोड्दैनन्
’दासत्व’
कमानवासीहरू पढ्न छोड्दैनन्
’इमान’
कति सोझा–सोझी
पीरलाई पनि लय र सुरमा घोलेर
गाइबस्छन् मर्माहत गीत
एउटा सिङ्गो युग रटेर पनि
बुझ्न नसकेपछि कथाहरू ‘दुई पात एक सुईरो’ का
खटिबस्छन् अचम्म !
खटिखानेहरूले पनि पढ्ने प्रयास नगरेको होईन
श्रम र ज्यालालाई
सपना र लक्ष्यलाई
पसिना र जीवनलाई
केही शीप नलागेपछि नै
परिश्रमका डस्टरहरूले मेट्न खोजिएको हो
क्रुर अक्षर र शब्द, ब्ल्याक बोर्डबाट
खोई त ?
कमिजमा लागेको दाग कुनै बेला मेटिएला
तर,
मेटिएन यो कमानेको भाग्यमा पोतिएको मोसो
लाखौं – करोडौं कर्मचारीहरू जिन्दगी लेखिरहेछन्
उ निर्धक्क लेखिरहेछ निधारमा दासत्व ।
वि.सं.२०८० वैशाख १६ शनिवार ०९:५० मा प्रकाशित






























