यमुना प्रधानाङ्ग ‘मुना’
वीरगञ्ज, पर्सा हाल इमाडोल, ललितपुर
’शीतल ! तिम्रो मैले धेरै गीत कविता सुनेको छु, पढेको छु । हिजोआज तिम्रो कलम लघुकथा लेखनतर्फ चलेको लाग्यो नि! ?’ मिल्ने साथी विश्वासले भन्यो ।
’चलेको मात्र होइन साथी ! पुस्तक नै बाहिर आइसक्यो ।’ शीतलले हसिलो मुद्रामा भन्यो ।
’ए, हो र !? लु बधाई छ साथी !’ विश्वासले हात मिलाउँदै भन्यो ।
‘साथी ! मेरो सपना भनेको जातीय भेदभाव छुवाछुत रहित सुन्दर समाजको निर्माण गर्ने भन्ने नै हो । त्यसका लागि कलमको माध्यमबाट आवाज उठाउँदै आइरहेको छु। समाजमा विद्यमान जातीय भेदभाव छुवाछुत गर्नेलाई कारवाही गरिने कुरा कानुनमा लेखिएको भएतापनि व्यवहारमा स्वीकार गर्न नसके कै कारण समाजमा विभिन्न घटनाहरू घट्दै आइरहेको हामी सबैले देख्दै, सुन्दै आइरहेका छौँ ।’, दुखित स्वरमा शीतलले भन्यो ।
‘ल भन न त साथी! मैले के सहयोग गर्न सक्छु । तिम्रो यो नेक काममा म सधैं हाजिर छु।’ हौसला दिँदै विश्वासले भन्यो ।
‘धन्यवाद साथी ! तिमीले साथ दिन्छौ भन्ने कुरामा विश्वस्त छु ।’ भन्दै फेरी भन्यो, ‘पहिले हामी आफूले लेखेको रचना, आफ्ना लेख्ने साथीहरू माझ सुन्ने, सुनाउने गर्दै आइरहेको । कसैले थपडी मार्दा मख्ख पर्यो, सक्यो ? अब त्यसो होइन साथी ! हामी आफ्नो टोलबाट शुरुवात गरौं । तबमात्र यो जातीय भेदभाव छुवाछुत रहितको सुन्दर समाज बनाउन सकिन्छ ।’, शीतलले भन्यो ।
‘यसो गरौ न त साथी ! दुई\तीन टोलका सबैलाई शनिवार भेला गराऔँ । गा.वि.स.अध्यक्ष लगायतका जन प्रतिनिधिहरूको उपस्थितिमा साहित्यिक कार्यक्रम सहित साँस्कृतिक कार्यक्रम पनि राखौँ र अन्त्यमा समाजले हेपेका समुदायको हातबाट सर्वत वितरण गर्न लगाऔँ ।’, विश्वासले भन्दै गर्दा शीतलले ब्यङ्ग्यपू्र्ण भावमा भन्यो, ‘त्यो समुदायका सीप चल्ने, मासु काटेको चल्ने, दुध चल्ने, सर्वत पनि चलिहाल्छ नि !? सर्वतको सट्टा उनीहरूको हातबाट पानी वितरण गर्न लगाऔँ ।’
वि.सं.२०८० वैशाख १६ शनिवार ०९:५१ मा प्रकाशित






























