
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँणमाथि नेपाली कांग्रेसले हालसम्म कुनै कारबाही गरेको छैन । प्रकरणबारे छानबिन चलिरहँदा कांग्रेसमाथि खाँणलाई निलम्बन गरी छानबिनका लागि सहयोग गर्न दबाब बढ्दो छ । मंगलबार कांग्रेसको पत्रकार सम्मेलनमा पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि धेरै पत्रकारको प्रश्न खाँणमाथि किन कारबाही नगरिएको भन्ने कोणबाट थियो ।
तर, कांग्रेसले तत्काल खाँणमाथि कारबाही प्रक्रिया अगाडि नबढाउने देखिएको छ । कांग्रेस प्रवक्ता डा. महतका अनुसार खाँणले आफूलाई निर्दोष सावित गर्छु भनेकाले कारबाही प्रक्रिया अगाडि नबढाइएको हो ।
“नक्कली शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेको छ । यो प्रकरणमा पक्राउ परेका नेता खाँणले निर्दोष छु, सावित गर्छु भन्नुभएको छ”, महतले भने, “त्यसैले निर्दोष सावित गर्छु भनेपछि पार्टीले निलम्बनको निर्णय नगरेको हो ।”
तर, छानबिन प्रक्रिया निष्पक्ष र स्वतन्त्ररुपमा होस् भन्नेमा कांग्रेस रहेको उनको दाबी छ । उनले भने, “अनुसन्धान चलिरहेको छ । निष्पक्ष र स्वतन्त्र रूपमा होस् । त्यसका लागि पूर्ण सहयोग गर्न कांग्रेस तयार छ, दोषी कोही नउम्किउन र निर्दोष कोही नफसून् ।”
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितको बयानअनुसार प्रहरीले खाँणलाई वैशाख २७ मा उनकै निवासबाट पक्राउ गरेको थियो । प्रहरीले प्रकरणबारे उनको अन्तिम बयान मंगलबार लिने तयारी गरेको छ ।