
वेद प्रसाद ढुङ्गेल (विपिन अगस्ति )
फिक्कल, इलाम
१
भ्यागुताले गरी टर्र, घुम्छ कुवा वरपर ।
चढे काँध वहीँ अब, बिष्ट्याउँछ रे बाँदर ;
अति बाठो हुँदा आची ,खान्छ रे कौवा त्यो चरी ;
कुभिण्डो बोकाको मुख , अटाउन्न कसैगरी ।
२
असम्भव हुने काम, किन गर्नु परिश्रम ?
छेपारो घाम ताप्छ रे, बिर्सेर सब उद्यम ।
जान्न सुँगुर स्वर्गमा, रमायो नर्कमै परी;
कुत्ता पुच्छर सोझिन्न , नचलाऊ घरिघरि ।
३
फर्कन्न मुखको बोली, गोली बन्दुकको अनि;
जिब्रो स्वादे भए अल्छे, तिघ्रो हुन्छ रे भन्छ नि ।
च्याउ काफी पलाउँछ, परेमा असारे झरी;
मुखलाई मही छैन, जुँगालाई घिउ भरी ।
४
नजाने गाउँको बाटो, नसोध्नु दुःख पाउन;
अरू हात्ती चढे धुरी, नचढ्नु लौ देखाउन ।
कालो अक्षर भैंसीले ,खोजे हुन्छ पाटी खरी ;
भीरमा पो गयो गोरू, टाढैबाट हरि हरि ।
५
छालामा बाघको भन्छन् ,स्यालको रजाई अरे ;
टुप्पोबाट पलाउने, फुर्फुरै अति गर्छ रे ।
हो हाँडी गाउँ बाँचेमा ,हुन्छन् जात्रा थरी थरी ;
शिरमा पुगे’ धोतीको, जुम्रा’ कुद्छ रे बेसरी ।
६
सर्पलाई दुधै ख्वाए, पनि विषै ओकल्दछ;
नहुने त मकै पनि, कालीपोके पो फल्दछ ।
हिँड्छ स्याल कराउँदै, आफैं राजा भए सरि ;
कुतर्कमा तिमी गर्नु, हो हो पाडरी पाडरी ।
छन्द : अनुष्टुप छन्द