काठमाडौं । सनराइज बैंकद्वारा डडेलधुरामा आलु खेती र सुनसरीमा पशुपालन सम्बन्धी तालिम दिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले दुई स्थानमा तालिम दिएको हो । बैंकले सुनसरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धी सिपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरूलाई प्रदान गरेर उनीहरूको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ ज्ञान प्रदान गर्ने उद्देश्य यो तालिम प्रदान गरिएको बैंकले जनाएको छ । झुम्कामा ३१ जना सहभागीहरूका साथमा २ दिने मासु उत्पादनका लागि पशुपालन सम्बन्धी सिपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।
सनराइज बैंक कोशी प्रदेशका प्रमुख विनोद गजुरेल र बैंकका अन्य पदाधिकारीहरूको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो । २ दिने कार्यक्रमको प्रशिक्षण डा. नागेन्द्र बहादुर दाहाल र सबिन खतिवडाले गरेका थिए । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रम विशेषगरी बाख्रा, बंगुर र कुखुरा पालनमा केन्द्रित सिपमूलक तालिम दिइएको थियो ।
त्यस्तै, कृषकहरू समक्ष कृषि, आम्दानी वृद्धि र बैंकिङ ज्ञान प्रदान गर्न अमरगढी ८ डडेलधुरामा आयोजित दुई दिने आलु खेती उत्पादन तथा वित्तिय साक्षरता कार्यक्रममा ४० जना सहभागीहरू थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका स्रोत व्यक्तिहरू ध्रुवराज जोशी र मनिषा चौधरीद्वारा प्रशिक्षित उक्त कार्यक्रम मुख्य अतिथि अमरगढी ०८ का वडा अध्यक्ष नरबहादुर शंखी र बैंकबाट प्रतिनिधि पुष्पराज भट्ठको उपस्थितिमा आयोजना गरिएको थियो ।
वि.सं.२०८० असार ५ मंगलवार ०९:०७ मा प्रकाशित





























