टिएन भट्ट विश्वामित्र, लोकन्थली, भक्तपुर
उसलाई उनीहरूले यसैगरि दौडाए भने
ऊ एकदिन कुशल धावक बन्ने छ
र दौड प्रतियोगिता जित्नेछ
उनीहरू भुइमा लत्रिएको रिवन बोकेर
गन्तब्यहिन यात्रा शुरु गर्नेछन् ।
उसलाई उनीहरूले यसरी नै
डोकोभरी कानुनका ठेली बोकाई
न्यायालयको स्टक मार्केटमा
भरीया बनाए भने
ऊ एक दिन स्वयम् न्याधिश बन्ने छ
र उनीहरूकै अपराधको फैसला गर्ने छ
उनीहरू उसलाई यसैगरी आरनमा पोल्न थाले भने
ऊ एक दिन स्वयम् घन भएर फलामको आकार बदल्नेछ ।
उसलाई धेरै नसताउ तिमीहरू
ईतिहास साक्षी छ,
धेरै सताइएकाहरूले नै अन्त्यमा सन्सार जितेका छन्
र सताउनेहरू
काला अक्षर भएर,
इतिहासमा कैद भएका छन् ।
उसले जितेको दिन
न तिमी रहने छौ
न तिम्रो इतिहास
त्यो दिन मध्यान्नमै
पुरानो सूर्य
आधि आकासमै
अस्ताउने छ
र पूर्वबाट नयाँ सूर्य उदाउनेछ नयाँ विहानी बोकेर ।
वि.सं.२०८० असार २३ शनिवार ०७:५६ मा प्रकाशित





























