
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् ।
सभापति देउवाले अपरान्ह ४ बजे आफ्नै निवास धुमबाराहीमा पदाधिकारीको बैठक डाकेका हुन् ।
देउवाले केन्द्रीय समिति बैठकका निर्णय तयारी गर्न बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत साउन २ गतेदेखि पार्टी कार्यालय धुमबाराहीमा बसिरहेको छ । सोहि बैठक विभिन्न निर्णय गर्दै बुधबार समापन गरिने तयारी अनुसार आजका लागि समितिको बैठक रोकिएको हो ।
नेपाली कांग्रेसको १ वर्षपछि बसेको केन्द्रीय समिति बैठकमा सोमबार दुई महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्मा लगायतले आफ्ना भनाई राखेका थिए भने भोली बुधबार सभापति देउवाले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने पालो रहेको छ ।
कांग्रेसको भोली बस्ने बैठकले के निर्णय गर्ला भन्ने विषयमा थप चासोका साथ हेरिएको छ ।
वि.सं.२०८० साउन ९ मंगलवार १५:२८ मा प्रकाशित